चितवन-तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली नदी किनारमा बसको अवशेष फेला परेपछि गत वर्ष सिमलतालमा भएको भीषण दुर्घटनासँग यसको सम्बन्ध हुन सक्ने आशंका गरिएको छ।
भरतपुर महानगरपालिका–२९ सिमलताल नजिक नारायणगढ–मुग्लिन सडकखण्डबाट पहिरोसहित त्रिशूलीमा खसेका दुई बसमध्ये एकको अवशेष हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ। दुर्घटना भएको स्थानबाट करिब २०० मिटर तल तनहुँतर्फ नदी किनारमा उक्त अवशेष देखिएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, आइतबार स्थानीय माछा मार्ने क्रममा जाल बालुवामा अड्किएपछि खोतल्दै जाँदा बसजस्तो संरचना देखिएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेर अवशेष निकाल्ने काम सुरु गरेको छ। बालुवामा पुरिएको अवस्थामा देखिएको बसको केही भाग नीलो रङको देखिएकाले त्रिशूलीमा हराएको गणपति डिलक्स बससँग मिल्दोजुल्दो भएको प्रहरीको भनाइ छ।
“रङ र बनावट हेर्दा गणपति डिलक्स बस हुन सक्ने सम्भावना देखिन्छ, तर पूर्ण रूपमा निकालेर पहिचान भएपछि मात्रै यकिन गर्न सकिन्छ,” निरीक्षक सिंहले बताए।
स्मरण रहोस्, २०८१ असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल क्षेत्रमा गएको पहिरोसँगै दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए।
दुर्घटनामा वाग्मती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वाग्मती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नदीमा खसेका थिए।
दुवै बसमा सवार ६२ जनामध्ये ११ जनाको शव फेला परेको, तीन जना घाइते अवस्थामा उद्धार गरिएको थियो भने ५१ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
हाल अवशेष पूर्ण रूपमा निकाल्ने काम जारी रहेकाले थप विवरण केही समयमै सार्वजनिक हुने प्रहरीले जनाएको छ। यसले सिमलताल दुर्घटनाबारे लामो समयदेखि अनिश्चिततामा रहेका पीडित परिवारलाई केही भए पनि यथार्थ नजिक पुर्याउने आशा गरिएको छ।
