खेमराज भट्ट, पुस २८
भक्तपुर — जिल्ला प्रहरी कार्यालय भक्तपुरको आयोजनामा सम्पन्न “हाम्रो प्रहरी” कार्यक्रमले समुदाय र प्रहरीबीचको सम्बन्धलाई अझ नजिक ल्याउने सन्देश दिएको छ। विश्वास, सहकार्य र साझा जिम्मेवारीलाई केन्द्रमा राख्दै आयोजित कार्यक्रम भव्य सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको हो।
कार्यक्रमको संयुक्त उद्घाटन काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी ईश्वर कार्की र भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले गर्नुभयो। उद्घाटन सत्रमा बोल्दै वक्ताहरूले समाजमा शान्ति–सुरक्षा कायम गर्न प्रहरी मात्र नभई नागरिकको सक्रिय भूमिका अपरिहार्य रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिक सुरक्षा, विपद् व्यवस्थापन तथा उद्दार, साथै सामाजिक सद्भाव र अमन–चयन जस्ता महत्वपूर्ण विषयमा गहिरो छलफल गरिएको थियो। वक्ताहरूले बदलिँदो सामाजिक परिवेशमा अपराधका स्वरूप पनि परिवर्तन हुँदै गएको उल्लेख गर्दै त्यसको सामना गर्न समुदाय–प्रहरी सहकार्यलाई थप प्रभावकारी बनाउनु आवश्यक रहेको धारणा राख्नुभयो।
“हाम्रो प्रहरी” कार्यक्रम अन्तर्गत समुदाय–प्रहरी साझेदारीलाई व्यवहारिक रूपमा अघि बढाउने उपायहरू, स्थानीय तहमा सूचना आदान–प्रदानको सुदृढ संयन्त्र, र नागरिक सहभागिता बढाउने पहलहरूबारे समेत विचार–विमर्श भयो। यसले प्रहरीप्रति नागरिकको विश्वास बढाउनुका साथै, समस्या समाधानमा सामूहिक प्रयासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी समुदाय प्रतिनिधि, सामाजिक अगुवा तथा सरोकारवालाहरूले प्रहरीसँगको सहकार्यले स्थानीय स्तरमै समस्या पहिचान र समाधान सहज हुने विश्वास व्यक्त गरे। आयोजकका अनुसार “हाम्रो प्रहरी” कार्यक्रम भविष्यमा पनि निरन्तर रूपमा सञ्चालन गरिनेछ, जसले प्रहरी र नागरिकबीचको दूरी घटाउँदै सुरक्षित र सद्भावपूर्ण समाज निर्माणमा योगदान पुर्याउनेछ।


