जनशक्ति आधारभूत विद्यालयमा २७ जना विद्यार्थीलाई न्यानो लुगा वितरण

धनबहादुर बिक
पुनर्वास, पुस ३०
पुनर्वास नगरपालिका–१ बलभद्र बस्तीस्थित जनशक्ति आधारभूत विद्यालयमा अध्ययनरत २७ जना गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ।

विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषको ब्याज रकमबाट कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत अति विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी न्यानो लुगा वितरण गरिएको हो।

विद्यालयका प्रधानाध्यापक शमशेरबहादुर तामाङका अनुसार विद्यालयमा स्थापना गरिएको कुल १ लाख ६७ हजार २६२ रुपैयाँको अक्षयकोषबाट प्राप्त ब्याज रकममध्ये १३ हजार ८३० रुपैयाँ खर्च गरी न्यानो लुगा वितरण गरिएको हो।

उक्त अक्षयकोष अन्तर्गत विद्यालयका पूर्व प्रधानाध्यापक टेकबहादुर विश्वकर्माले आफ्ना स्वर्गीय बुवा–आमा मुण्डाराज र भीमकुमारी विश्वकर्माको स्मृतिमा १ लाख १ हजार १११ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ। त्यसैगरी पुनर्वास नगरपालिका–६ निवासी तथा हाल अमेरिकामा बसोबास गर्दै आएका शिव बिष्टले शिव–गोमा अक्षयकोषका लागि ५१ हजार १५१ रुपैयाँ तथा पुनर्वास नगरपालिका–६ प्रतिभानगरका व्यवसायी जयदेव भट्टले स्वर्गीय चन्द्रदेव भट्टको स्मृतिमा १५ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुकबहादुर तामाङले गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहज होस् भन्ने उद्देश्यले न्यानो लुगा वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुकबहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक लालबहादुर मगरले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply