सभ्य नागरिकको पहिचान : सडक दुर्घटना न्यूनीकरण हामी सबैको साझा जिम्मेवारी

खेमराज भट्ट, माघ २
काठमाडौ – सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियमप्रति नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२’ अन्तर्गत बुढानिलकण्ठमा ट्राफिक सचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

माघ २ गते काठमाडौंमा आयोजित उक्त कार्यक्रम चपली हाइटदेखि बुढानिलकण्ठसम्म निकालिएको सचेतनामूलक र्‍यालीसँगै औपचारिक रूपमा सम्पन्न भएको हो। र्‍यालीमा सहभागीहरूले ट्राफिक नियम पालनासम्बन्धी सन्देशमूलक प्लेकार्ड बोकेर सुरक्षित सडक र जिम्मेवार यात्राको सन्देश दिएका थिए।

कार्यक्रम प्रहरी अतिरिक्त महानिरीक्षकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक, ट्राफिक प्रहरीका प्रतिनिधि तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुखले ट्राफिक सप्ताहको महत्व, सडक सुरक्षाको चुनौती र समाधानका उपायबारे आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले आफ्नो मन्तव्यमा सडक प्रयोग गर्दा आफ्नै गल्ती नभए पनि अरूको लापरवाहीका कारण दुर्घटना हुन सक्ने यथार्थलाई आत्मसात् गर्दै प्रत्येक नागरिक स्वयं अनुशासित, सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।

“ट्राफिक नियम पालना गर्नु केवल कानुनी दायित्व मात्र होइन, यो सभ्य र जिम्मेवार नागरिकको पहिचान हो,” उहाँले भन्नुभयो।

वक्ताहरूले बढ्दो सवारी चाप, लापरवाहीपूर्ण ड्राइभिङ, ओभरस्पिड र ट्राफिक नियम उल्लङ्घन नै अधिकांश दुर्घटनाको मुख्य कारण रहेको उल्लेख गर्दै नियमित सचेतना, कडाइका साथ नियम कार्यान्वयन र नागरिक–प्रहरी सहकार्य अपरिहार्य रहेको बताए।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, समाजसेवी, यातायात व्यवसायी, कलाकार, पत्रकार तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले बालबालिकादेखि वयस्कसम्ममा ट्राफिक अनुशासनको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यस किसिमका सचेतनामूलक कार्यक्रमहरूले सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा सुनिश्चितता र नागरिक–प्रहरी सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

अन्त्यमा आयोजकले ट्राफिक नियमको पालना आजको आवश्यकता मात्र होइन, भोलिको सुरक्षित भविष्यको आधार भएको उल्लेख गर्दै सबै नागरिकलाई जिम्मेवार सडक प्रयोगको अभ्यास गर्न आह्वान गरेका छन्।

ट्राफिक नियम पालना गरौं, दुर्घटनाबाट बचौं र अरूलाई पनि बचाऔं — सुरक्षित सडक, सुरक्षित भविष्य!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply