खेमराज भट्ट, माघ ३
काठमाडौं — “गति सीमित गर्नुहोस्, जीवन बचाउनुहोस्” र “विस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न” भन्ने सशक्त सन्देशसहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथद्वारा आयोजित दुर्घटना न्यूनीकरण विशेष अभियान अन्तर्गत ट्राफिक सप्ताह–२०८२ को समापन कार्यक्रम शनिबार काठमाडौंको ठमेलमा भव्य रूपमा सम्पन्न भएको छ।
समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजिपी) दान बहादुर कार्की रहनु भएको थियो। ठमेल क्षेत्रलाई सडक सुरक्षा र ट्राफिक सचेतनाको खुला मञ्च का रूपमा रूपान्तरण गरिएको कार्यक्रममा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रमको औपचारिक सुरुआत अतिथिहरूको आगमनसँगै राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख (प्र.ब.उ.) नवराज अधिकारी ले स्वागत मन्तव्य दिँदै ट्राफिक सप्ताहले नागरिकको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याएको उल्लेख गर्नुभयो।
गायक थानेश्वर गौतम को स्वरमा प्रस्तुत स्वागत गीत तथा ट्राफिक प्रहरीद्वारा गरिएको नृत्यले उपस्थित दर्शकको मन जितेको थियो।
यस अवसरमा ट्राफिक सप्ताह तथा सडक दुर्घटना न्यूनीकरण अभियान–२०८२ सम्बन्धी बृत्तचित्र प्रदर्शन गरिएको थियो, जसले सडक दुर्घटनाको यथार्थ अवस्था, मुख्य कारण र न्यूनीकरणका उपायहरूलाई प्रभावकारी रूपमा उजागर गरेको थियो।


दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनालाई अझ प्रभावकारी बनाउन राष्ट्रिय कलाकार तथा गायक–गायिकाबाट विविध सांगीतिक प्रस्तुति दिइएको थियो।
कलाकार रोमा न्यौपाने, मनोज गजरेल, आस्था राउत, बनेश्वर गौतम, बाल कलाकार आर.भी. पोखरेल, बालचन्द्र बराल (बरालु) र बबिता बनिया (जेरी) को लोकदोहोरी प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बनेको थियो।
त्यसैगरी ट्राफिक प्रहरीद्वारा ‘रातो बत्ती’ गीतमा प्रस्तुत नृत्यले ट्राफिक नियम पालना र जीवन सुरक्षाको सन्देशलाई कलात्मक ढंगले प्रवाह गर्यो।
प्रर्याक स्टार एलिस राई टिम को प्रस्तुति तथा जोन एण्ड द लोकल्स (विशेष: जोलिन चाम्लिङ राई) को सांगीतिक कन्सर्टले कार्यक्रमलाई थप ऊर्जाशील बनाएको थियो।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष, राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष, ठमेल पर्यटन विकास परिषदका अध्यक्ष तथा काठमाडौं महानगरपालिका वडा नं. २६ का वडा अध्यक्षले मन्तव्य राख्दै सडक दुर्घटना न्यूनीकरण सबैको साझा दायित्व भएकोमा जोड दिनुभयो।
प्रमुख अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले ट्राफिक प्रहरीको सक्रियता, नागरिक सचेतना र सरोकारवालाबीचको सहकार्यबाट मात्र सडक दुर्घटना घटाउन सकिने बताउनुभयो।
उहाँले भन्नुभयो,ट्राफिक नियम पालना कुनै बाध्यता होइन, यो सभ्य नागरिकको पहिचान हो। सानो लापरवाहीले पनि ठूलो क्षति निम्त्याउन सक्छ, त्यसैले सबै सचेत हुनु जरुरी छ।
ट्राफिक प्रहरीका अनुसार ट्राफिक सप्ताह–२०८२ ले विद्यालय, कलेज, सार्वजनिक यातायात, चालक तथा सर्वसाधारणमा ट्राफिक नियमप्रति चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

यस अभियानले सडक प्रयोगकर्तामा जिम्मेवार व्यवहार विकास गर्न सहयोग पुर्याएको र दुर्घटना न्यूनीकरणतर्फ सकारात्मक सन्देश प्रवाह गरेको निष्कर्ष निकालिएको छ।
ट्राफिक सप्ताह–२०८२ को समापन कार्यक्रम केवल औपचारिक समारोहमा सीमित नरही सचेतना, संस्कृति र सहभागिताको साझा अभियान का रूपमा स्थापित भएको स्पष्ट देखिएको छ।
सुरक्षित यात्रा, सुरक्षित जीवन भन्ने मूल मर्मलाई आत्मसात् गर्दै नागरिक, चालक, यातायात व्यवसायी र राज्य संयन्त्र एकजुट भएमा सडक दुर्घटना न्यूनीकरण सम्भव हुने सशक्त सन्देश कार्यक्रमले दिएको छ।
