हेमा भट्ट माघ ५
धनगढी, कैलाली – सुदूरपश्चिम प्रदेशका तेक्वान्दो खेलाडीहरूले भारतको उत्तराखण्ड राज्यको देहरादूनमा सम्पन्न ८औँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप मा उल्लेखनीय सफलता हासिल गर्दै प्रदेशको नाम अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा उज्यालो बनाएका छन्।
२०८२ साल माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न देश तथा भारतका विभिन्न राज्यका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाबीच सुदूरपश्चिम प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै १५ स्वर्ण, ८ रजत र १२ कास्य पदक जित्न सफल भएका हुन्। यस उपलब्धिलाई प्रदेशको खेलकुद इतिहासमा ऐतिहासिक सफलता मानिएको छ।


सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघअन्तर्गत विभिन्न जिल्लाबाट ३५ जना खेलाडी प्रतियोगितामा सहभागी भएका थिए। टोलीको नेतृत्व संघका सचिव श्री राम चौधरी ले गरेका थिए। साथै, लोकेन्द्र बम, लक्ष्मण श्रेष्ठ र घनबहादुर खोलाउला प्रशिक्षकका रूपमा सहभागी थिए भने श्री राम चौधरी, सुनिल बिष्ट, प्रशान्त चौधरी, संजय श्रेष्ठ र दिपा राना रेफ्रीको भूमिकामा रहेका थिए।
प्रतियोगितामा क्योरोगी (फाइट), पुम्से र स्पिड किकिङ विधाका खेलहरू समावेश थिए। एक खेलाडीले तीनै विधामा सहभागिता जनाउन पाउने सुविधाले खेलाडीहरूको बहुआयामिक क्षमता प्रस्तुत गर्न अवसर मिलेको थियो। सुदूरपश्चिमका खेलाडीहरूको अनुशासन, मेहनत र आत्मविश्वासले दर्शक तथा आयोजकको ध्यान आकर्षित गर्न सफल भएको थियो।


खेलाडी तथा प्रशिक्षकहरूका अनुसार भारतमा प्रतियोगिताका क्रममा पाएको सम्मानजनक व्यवहारले उनीहरूको मनोबल थप उच्च बनाएको छ। सीमित स्रोत–साधनबीच पनि निरन्तर अभ्यास र प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सकिएको उनीहरूको भनाइ छ।
प्रतियोगितामा सहभागी हुनुअघि सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष शोभाष ब. शाही ले खेलाडीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै उच्च मनोबलका साथ विदाइ गरेका थिए। अध्यक्ष शाहीले अन्तर्राष्ट्रिय पदकसहित स्वदेश फर्किएका खेलाडीहरूलाई सम्मान तथा स्वागत गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।


यस सफलताले सुदूरपश्चिम प्रदेशमा अपार खेलकुद सम्भावना रहेको स्पष्ट प्रमाणित गरेको छ। खेलप्रेमीहरूका अनुसार राज्य तथा सरोकारवाला निकायबाट निरन्तर सहयोग, सम्मान र दीर्घकालीन लगानी प्राप्त हुन सके सुदूरपश्चिमबाट भविष्यमा अझ धेरै अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुन सक्नेछन्।
अन्तर्राष्ट्रिय मञ्चमा सुदूरपश्चिम प्रदेशको झण्डा फहराउन सफल यी खेलाडीहरूको उपलब्धि सम्पूर्ण प्रदेशकै गौरव बनेको छ।















