फागुन २
धनगढी। कैलाली क्षेत्र नम्बर ५ मा चुनावी माहोल दिनदिनै तात्दै गएको छ। Nepali Congress का सुदूरपश्चिम महामन्त्री तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह (मनु) ले अभियानलाई भावनात्मक होइन, व्यवस्थित र नतिजामुखी बनाउने स्पष्ट रणनीति अघि सारेका छन्।

टोल–टोलमा आयोजित छलफलमा उनले कार्यकर्तालाई घरदैलो अभियानलाई अभिलेखीकरणसहित सञ्चालन गर्न निर्देशन दिए। दैनिक उपस्थिति रजिस्टर राख्ने, टोलस्तरमा मतदाताको सहभागिता सुनिश्चित गर्ने र जिम्मेवारी स्पष्ट बाँडफाँट गर्ने उनको जोड थियो। “संगठन चलायमान छ कि छैन भन्ने देखिनुपर्छ,” भन्दै उनले अनुशासन र समन्वयलाई जितको आधार माने।
उनले अहिलेको मतदाता भाषणभन्दा प्रत्यक्ष भेटघाट र व्यवहारबाट प्रभावित हुने बताए। त्यसैले घरदैलो, साना अन्तरक्रिया र प्रत्यक्ष संवादलाई प्राथमिकता दिन आग्रह गरे। मतदाता शिक्षालाई पनि अभियानको मुख्य आधार बनाउँदै उनले वडा कार्यसमितिलाई सक्रिय हुन निर्देशन दिए—मतदान प्रक्रिया, पार्टीको एजेन्डा र उम्मेदवारको प्रतिबद्धता स्पष्ट बुझाउनुपर्ने उनको भनाइ थियो।

स्वास्थ्य अवस्थाका कारण सीमित गतिशीलता रहेको उल्लेख गर्दै शाहले जहाँ बोलाए पनि उपस्थित हुने प्रतिबद्धता जनाए। “उम्मेदवार घरमा आएन भन्ने गुनासो नआओस्,” उनको आग्रह थियो। यसले कार्यकर्तामा थप ऊर्जा थपिएको सहभागीहरूको भनाइ छ।
शाहले व्यक्तिगत जित–हारभन्दा पार्टीको संगठित अभियानलाई प्राथमिकता दिनुपर्ने बताए। नियमित समीक्षा, योजनाबद्ध प्रचार र मतदाता सूची अद्यावधिक जस्ता कार्यक्रमलाई तीव्रता दिने निर्णय गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राख्दै उनले क्षेत्रको दीर्घकालीन विकासमा केन्द्रित रहने प्रतिवद्धता दोहोर्याए।
कैलाली–५ मा कांग्रेसको अभियान अब केवल नारामा सीमित नभई संरचना, समन्वय र मतदाता शिक्षासहित अघि बढिरहेको दाबी गरिएको छ। घरदैलोको गति र प्रत्यक्ष संवादले चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।
