राष्ट्रिय एकताको सन्देशसहित धनगढीमा एकता दौड

कैलाली, धनगढी — नेपाली सेना दिवसको अवसर पारेर धनगढीमा आयोजित एकता दौड कार्यक्रमले राष्ट्रिय एकता र सुरक्षाप्रतिको प्रतिबद्धतालाई पुनः स्मरण गराएको छ। कार्यक्रममा सम्बोधन गर्दै नजिर मियाँले राष्ट्रको सार्वभौमसत्ता र अखण्डताको रक्षामा नेपाली सेनाले खेलेको भूमिका अतुलनीय रहेको बताए।
प्रदेश प्रमुख मियाँले राष्ट्रिय सुरक्षाको मेरुदण्डका रूपमा सेनाले विपद्, सङ्कट र चुनौतीपूर्ण परिस्थितिमा जनताको ज्यान–धनको सुरक्षाका लागि निरन्तर अग्रपंक्तिमा रहेर काम गर्दै आएको उल्लेख गरे।
“नेपाली सेना जनताको विश्वास, राष्ट्रको ढाल र गौरवको प्रतीक हो,” उनले भने, “जनतालाई केन्द्रमा राखेर देशका कुनाकाप्चामा सेवा पुर्‍याइरहेको छ।”
सुदूरपश्चिम पृतना हेडक्वाटर (तेघरी ब्यारेक) को आयोजनामा सम्पन्न कार्यक्रममा पृतनापति किरण केसीले स्वागत मन्तव्य व्यक्त गर्दै एकता दौडको उद्देश्यबारे प्रकाश पारे। उनका अनुसार कार्यक्रमले सेना र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।

छात्र–छात्रातर्फ ५ किलोमिटर र १० किलोमिटर दौड प्रतियोगिता सञ्चालन गरिएको थियो। विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने सहभागीहरूलाई नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा हिरासिंह सार्की, वीरबहादुर थापा, गोपाल हमाल, कन्दकला राना तथा ठेकेन्द्रराज जोशी लगायतको उपस्थिति रहेको थियो।

प्रदेश स्तरमा आयोजित एकता दौड केवल खेलकुद कार्यक्रम मात्र नभई राष्ट्रिय एकताको प्रतीकका रूपमा स्थापित भएको सहभागीहरूको भनाइ थियो। कार्यक्रममा उल्लेख गरिएअनुसार यसले नागरिकमा सुरक्षित राष्ट्रप्रतिको भावना थप सुदृढ बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply