खेमराज भट्ट, फागुन ७
काठमाडौँ – निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तातिँदै जाँदा का तर्फबाट उम्मेदवार मेनुका भण्डारी (कृतु) ले आफ्नो स्पष्ट, सान्दर्भिक र दूरदर्शी प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छन्। “मेरो प्रतिबद्धता, समृद्ध क्षेत्र–सबल राष्ट्र” भन्ने मूल नारासहित उनले संविधानको संरक्षणदेखि सुशासन, सामाजिक न्याय, पूर्वाधार विकास र डिजिटल रूपान्तरणसम्मका ठोस योजनाहरू अघि सारेकी छन्।
भण्डारीले नेपालको संविधानका आधारभूत विषयहरूको रक्षा गर्दै समयानुकूल आवश्यक संशोधन गर्ने प्रतिबद्धता जनाएकी छन्। लोकतन्त्रको संस्थागत सुदृढीकरण र राजनीतिक स्थिरताका लागि शासकीय स्वरूपमा आवश्यक परिमार्जन गर्ने उनको स्पष्ट धारणा छ।
उनको एजेन्डाको केन्द्रमा नागरिकको आधारभूत अधिकार छ। शिक्षा, स्वास्थ्य र रोजगारीलाई व्यवहारिक रूपमा सुनिश्चित गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै नागरिकलाई अनिवार्य आवद्ध गराउने योजना उनले अघि सारेकी छन्। डिजिटल रोजगारी र आईटी क्षेत्रको विकासमार्फत युवाहरूको विदेश पलायन रोक्ने विशेष कार्यक्रम लागू गर्ने उनको घोषणा छ।
भण्डारीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सुशासन स्थापना गर्ने अठोट व्यक्त गरेकी छन्। एक वर्षभित्र उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग गठन गरी सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने पहल गर्ने उनले बताएकी छन्। साथै ई–शासन ब्लूप्रिन्ट लागू गरी अनुहार रहित, कागजात रहित र नगद रहित प्रशासन प्रणाली विकास गर्ने लक्ष्यसमेत सार्वजनिक गरिएको छ।

पछिल्लो जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, सडक विभाग र जिल्ला अदालतलगायतका संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ। साथै आन्दोलनका क्रममा शहादत प्राप्त युवाहरूको सम्झनामा “जेन्जी स्मारक पार्क” निर्माण गर्ने योजना समेत अघि सारिएको छ।
सबै वर्ग, जाति, लिङ्ग र समुदायबीच समानता कायम गर्दै सामाजिक न्याय सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ। महिलाहरूको प्रतिनिधित्व मात्र नभई अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, महिला उद्यमीलाई व्यवसायिक ऋणमा २५ प्रतिशत ब्याज छुट दिने तथा एकल महिलाको भत्ता वृद्धि र विशेष रोगहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने योजना सार्वजनिक गरिएको छ।
सुविधा सम्पन्न जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने, “एक परिवार, एक आवास” अवधारणा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने तथा दुई वर्षभित्र भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्याको वैज्ञानिक र सम्मानजनक समाधान गर्ने योजना उनले अघि सारेकी छन्।
काठमाडौँ उपत्यकाको जटिल ट्राफिक समस्याको दीर्घकालीन समाधानका लागि सार्वजनिक यातायात प्रवर्द्धन, पोडवे, मेट्रो, अन्डरपास र फ्लाइओभरको सम्भाव्यता अध्ययन गरी कार्यान्वयनतर्फ पहल गर्ने घोषणा गरिएको छ। पार्किङ व्यवस्थापनका लागि आवश्यक स्थान पहिचान गरी प्राविधिक परीक्षणको आधारमा आधुनिक पार्किङ पूर्वाधार विकास गर्ने योजना पनि समावेश छ।
फोहोर व्यवस्थापनलाई प्राथमिकता दिँदै स्वस्थ बस्ती निर्माण, हरियाली प्रवर्द्धन र वातावरणमैत्री विकासलाई जोड दिइएको छ। प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यसमेत सार्वजनिक गरिएको छ।
नेपालको असंलग्न परराष्ट्र नीतिलाई थप सुदृढ बनाउँदै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथमिकतामा राख्ने कार्यनीति अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेकी छन्।
समग्रमा, मेनुका भण्डारी (कृतु) को प्रतिबद्धतापत्र काठमाडौँ–१ लाई आधुनिक, समावेशी र सुशासित निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट मार्गचित्रका रूपमा प्रस्तुत भएको छ। संविधान रक्षा, सुशासन, सामाजिक न्याय र दिगो पूर्वाधार विकासलाई आधार बनाएर अघि बढ्ने उनको घोषणाले चुनावी माहोलमा नयाँ ऊर्जा थपेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
