हेमा भट्ट,फागुन १०
कैलाली, फागुन २१ – नेपाली कम्युनिष्ट पार्टी का तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रामलाल डगौरा थारूले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गर्नुभएको छ।
“सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित सार्वजनिक गरिएको उक्त प्रतिबद्धता–पत्रमा क्षेत्रको समग्र विकास, दिगो पूर्वाधार निर्माण, शिक्षा–स्वास्थ्य सुधार, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ।
अनुभव र उपलब्धिको आधार पूर्व टीकापुर नगर प्रमुखसमेत रहनुभएका थारूले आफ्नो अघिल्लो कार्यकालमा गरेका कामहरूको अनुभवलाई संघीय संसदमा उपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार कार्यकालमा टीकापुर विमानस्थल सञ्चालनको पहल, नगर क्षेत्रमा हाईमास्ट लाइट जडान, सडक तथा सार्वजनिक स्थल सुधार, बडघर ऐन निर्माण, तथा मुक्त कमैया–कम्लहरी व्यवस्थापन जस्ता महत्वपूर्ण काम सम्पन्न भएका थिए।
उहाँले स्थानीय तहमा प्राप्त अनुभवलाई संघीय स्तरको नीति निर्माणसँग जोडेर कैलाली–१ लाई नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो।
बाढी नियन्त्रण र पूर्वाधार विकासमा प्राथमिकता
कर्णाली, मोहना, पथरैया लगायत बाढी प्रभावित क्षेत्रहरूमा दीर्घकालीन समाधानका लागि व्यवस्थित तटबन्धन निर्माण गर्ने योजना अघि सारिएको छ। साथै क्षेत्रीय रिङरोड निर्माण, प्रमुख सडकहरूको कालोपत्रे, आवश्यक स्थानमा पुल निर्माण तथा स्मार्ट सिटी अवधारणालाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइएको छ। थारूले बाढी समस्याबाट वर्षेनी प्रभावित हुने समुदायलाई सुरक्षित बसोबासको वातावरण तयार गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पार्नुभयो।
शिक्षा र स्वास्थ्यमा समावेशी योजना शिक्षातर्फ मुक्त कमैया, सुकुम्बासी तथा विपन्न वर्गका विद्यार्थीहरूका लागि उच्च तथा प्राविधिक शिक्षामा निःशुल्क पहुँच सुनिश्चित गर्ने पहल गरिने उल्लेख गरिएको छ। स्थानीय विद्यालयहरूको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा संघीय बजेटमार्फत विशेष कार्यक्रम ल्याइने बताइएको छ। स्वास्थ्य क्षेत्रमा टीकापुर अस्पताललाई १०० शैयाको सुपरस्पेशलिष्ट अस्पतालका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। सिकलसेल रोगको निःशुल्क उपचार व्यवस्था, स्थानीय स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति तथा विशेषज्ञ चिकित्सक सेवा विस्तार गर्ने योजना पनि प्रतिबद्धतामा समेटिएको छ।
कृषि र पर्यटनमा दिगो रूपान्तरण कृषि क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति, कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण, सरकारी खरिद केन्द्र स्थापना तथा किसानमैत्री नीति निर्माण गर्ने योजना अघि सारिएको छ। आधुनिक कृषि प्रविधि, सिँचाइ विस्तार र कृषि बीमालाई प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।
पर्यटन विकासतर्फ टीकापुर पार्क, कर्णाली–
मोहना नदी किनार क्षेत्र तथा डलफिन अवलोकन क्षेत्रको संरक्षण र प्रवर्द्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरिएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि प्राथमिकतामा राखिएको छ।
सुशासन र युवाको आकांक्षा उम्मेद्वार थारूले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता अभिवृद्धि, कानुनी राज्य सुदृढीकरण तथा नवयुवाहरूको रोजगारी र उद्यमशीलतामा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संसदमा क्षेत्रका मुद्दालाई प्रभावकारी ढंगले उठाउने र जनताको आवाजलाई नीति निर्माणमा प्रतिबिम्बित गर्ने उहाँको भनाइ छ।
उहाँले फागुन २१ गते हुने निर्वाचनमा “तारा” चिन्हमा मतदान गरी आफूलाई अत्याधिक बहुमतले विजयी गराउन मतदातासमक्ष अपिल गर्नुभएको छ। समग्रमा, रामलाल डगौरा थारूको प्रतिबद्धता–पत्रले सुशासन, विकास र सामाजिक न्यायलाई केन्द्रमा राख्दै कैलाली–१ लाई दिगो, सुरक्षित र समृद्ध क्षेत्र बनाउने लक्ष्य प्रस्तुत गरेको देखिन्छ।
