खेमराज भट्ट, फागुन, ११
बागमती, – नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतम ले मकवानपुर क्षेत्र नम्बर १ का लागि ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ। हेटौँडामा आज आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले आफ्नो योजना र प्राथमिकताबारे स्पष्ट रूपमा जानकारी दिनुभयो।
उहाँले मुलुकलाई समृद्धि र विकासको मार्गमा लैजानु आफ्नो प्रमुख प्राथमिकता भएको र जनमुखी नीति तथा कानून निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उम्मेदवार गौतमले ग्रेटर हेटौँडा चक्रपथ निर्माणलाई प्राथमिकतामा राख्ने, हेटौँडा उपमहानगरपालिकालाई महानगरपालिका बनाउने प्रयास गर्ने योजना प्रस्तुत गर्नुभएको छ। साथै कर्रा र राप्ती खोला करिडोर निर्माण, वागमती नदी करिडोर निर्माण, र हेटौँडा–गढी–बकैया–बागमती जोड्ने मुख्य तथा सहायक सडकहरूको स्तरोन्नति गर्नु पनि उहाँको लक्ष्यमा छ।
ग्रामीण बस्तीमा बार्है महिना सञ्चालन हुने सडक, प्रत्येक घरमा स्वच्छ खानेपानी, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच, सबै वडामा इन्टरनेट तथा डिजिटल सेवा विस्तार, र एकीकृत नमुना वस्तीको विकास जस्ता योजना पनि समावेश छन्।
विशेषगरी, राजमार्ग ऐन अन्तर्गत हेटौँडा नगरको विस्तार गर्दा पिडित पक्षलाई उचित मुआब्जा र क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने, साथै मुख्य मोटर बाटो र स्थानीय मार्गहरूलाई जोड्ने योजना पनि प्रतिबद्धतापत्रमा समेटिएको छ।
उहाँले भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही प्रशासन सुनिश्चित गर्न पहल गर्ने, डिजिटल सेवा (ई–सेवा) विस्तार गर्ने, र जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद कार्यक्रम संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आधुनिक कृषि प्रविधि र सिँचाइ सुविधा विस्तार, व्यावसायिक कृषि जोन/पकेट क्षेत्र विकास, पशुपालन र दुग्ध उत्पादनमा आत्मनिर्भरता, स्थानीय उत्पादनको बजार व्यवस्थापन, हेटौँडा तथा मयूरधाप औद्योगिक क्षेत्र विस्तार, साना तथा घरेलु उद्योग प्रवद्र्धन, युवाका लागि सहुलियत ऋण र स्टार्टअप सहयोगमार्फत उद्यमशीलता विकास गर्ने योजना उहाँको प्रतिबद्धतामा समावेश छन्।
गौतमले हेटौँडा, मकवानपुरगढी, बकैया र बागमती क्षेत्रका प्राकृतिक, धार्मिक (मठ, गुम्बा, चर्च, मस्जिद) र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, ऐतिहासिक मकवानपुर गढी दरबार क्षेत्रको संरक्षण र सम्बर्धन गर्दै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना प्रस्तुत गर्नुभएको छ। होमस्टे र आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत स्थानीय रोजगार सिर्जना गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
उम्मेदवार बिजय गौतमको प्रतिबद्धतापत्रले मकवानपुर क्षेत्रको समग्र विकास, सामाजिक–आर्थिक सुधार, भौतिक पूर्वाधार, कृषि–उद्योग प्रवद्र्धन र पर्यटन विकासमा केन्द्रित स्पष्ट योजना प्रस्तुत गरेको छ। उहाँको लक्ष्य क्षेत्रीय विकास र स्थानीय जनताको जीवनस्तर उन्नत बनाउन केन्द्रित रहेको देखिन्छ।
