हेमा भट्ट, फागुन २१
कञ्चनपुर, फागुन — कञ्चनपुर क्षेत्र नं. २ अन्तर्गत कृष्णपुर नगरपालिका–८ स्थित नवज्योती आधारभूत विद्यालयमा मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको छ। बिहानदेखि नै मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ।
मतदान केन्द्रमा रहेका कुल ११२६ मतदातामध्ये दिउँसो १२ बजेसम्म ५५६ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। खसेको मतमध्ये २७३ महिला र २८३ पुरुष मतदाता रहेका छन्।
मतदान अधिकृत ‘क’ भुवन भट्ट र ‘ख’ लोकराज पन्तले रैकवार खबरलाई जानकारी दिँदै मतदान प्रक्रिया सहज, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन भइरहेको बताए। उनका अनुसार मतदान केन्द्रमा कुनै अवरोध वा समस्या बिना मतदाताहरूले उत्साहपूर्वक आफ्नो मत खसाइरहेका छन्।
स्थानीय बासिन्दाले लोकतान्त्रिक अभ्यासप्रति उच्च जिम्मेवारी र सक्रियता देखाउँदै बिहानैदेखि मतदान केन्द्रमा उपस्थित भई मत हालिरहेका छन्। समग्रमा मतदान केन्द्रमा शान्त, अनुशासित र सकारात्मक वातावरण कायम रहेको छ।
