नेपिडो (म्यान्मा), चैत २० गते । म्यान्मामा पाँच वर्षअघि बल प्रयोगमार्फत सत्ता कब्जा गरेको सैन्य नेतृत्वले अब नागरिक आवरणमा शासनलाई निरन्तरता दिन खोजेको सङ्केत देखिएको छ । शुक्रबार संसद्वारा जुन्ता प्रमुख मिन आङ ह्लाइङलाई राष्ट्रपतिमा निर्वाचित गरिनु त्यसैको पछिल्लो कदमका रूपमा हेरिएको छ ।
एएफपीका पत्रकारले सङ्कलन गरेको मतगणनाको तथ्याङ्क अनुसार उहाँले सांसदबाट प्राप्त ५८४ मतमध्ये कम्तीमा २९३ मत हाँसिल गर्दै स्पष्ट बहुमत पार गर्नु भएको हो । उक्त मतदानमा सैन्य पक्षधर सांसदको प्रभाव प्रमुख रूपमा देखिएको थियो । मिन आङ ह्लाइङले सन् २०२१ मा प्रजातान्त्रिक प्रणालीलाई अन्त्य गर्दै निर्वाचित नेतृ आङ सान सुकीलाई हिरासतमा लिनुका साथै उहाँको पार्टी विघटन गर्नु भएको थियो ।
त्यसयता उहाँकै नेतृत्वमा रहेको सैन्य प्रशासनले देश सञ्चालन गर्दै आएको छ । जुन्ताले गत महिना संसद् पुनः स्थापना गर्नु जनतामा सत्ता फिर्ताको सङ्केत भएको दाबी गरे पनि विश्लेषकले यसलाई सैन्य शासनलाई वैधता दिन खोजिएको बाह्य आवरणका रूपमा व्याख्या गरेका छन् । यसैबिच, जनवरीको अन्त्यमा सम्पन्न निर्वाचनमा सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले ८० प्रतिशतभन्दा बढी संसदीय सिट जितेको थियो ।
साथै, संविधान अनुसार सशस्त्र सेनाका सेवारत सदस्यले कुल सिटको एक चौथाइ हिस्सा स्वतः ओगटेका छन् । चुनावको विरोध वा आलोचना गर्न नपाइने व्यवस्था गरिएको थियो भने विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा मतदान हुन सकेन । यस्ता क्षेत्रमा सैन्य शासन विरुद्ध सशस्त्र सङ्घर्ष जारी रहेको छ । फेब्रुअरी २०२१ को सैनिक विद्रोहयता जारी द्वन्द्वले सबै पक्षका दशौँ हजार मानिसको ज्यान लिइसकेको छ, जसले देशलाई दीर्घकालीन अस्थिरता र मानवीय सङ्कटतर्फ धकेलेको छ । रासस/एएफपी
