हेमा भट्ट, बैशाख २६
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गाेपाल हमालज्यूले फिलिपिन्सबाट एमबीबीएस अध्ययन सम्पन्न गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त गर्न सफल धनगढी-८ निवासी युवा डा. दीपक सुनारज्यूलाई विशेष स्वागत तथा सम्मान गर्नुभएको छ।
नगर प्रमुख हमालज्यूले खादा, फूलमाला तथा सम्मानपत्र सहित बधाई ज्ञापन गर्दै डा. सुनारज्यूको सफलता सम्पूर्ण धनगढी तथा सुदूरपश्चिमकै लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले कठिन परिस्थिति र विभिन्न चुनौतीका बीच हासिल गरिएको यो सफलता युवापुस्ताका लागि प्रेरणादायी उदाहरण भएको उल्लेख गर्नुभयो।
सम्मान कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले डा. दीपक सुनारज्यूले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।
डा. दीपक सुनारज्यूले आफूलाई सहयोग, साथ र हौसला प्रदान गर्ने परिवार, गुरुजन, स्थानीयवासी तथा नगर प्रमुखज्यूप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो ज्ञान र अनुभवलाई देशको स्वास्थ्य सेवामा समर्पित गर्ने प्रतिबद्धता जनाउनुभयो।

