बाजुरा, भदौ ४ — बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि बाजुराका ग्रामीण तथा बजार क्षेत्रका महिलाहरू दाउराको जोहो गर्न वनतिर लाग्न थालेका छन्। ग्यास सहज रूपमा नपाउँदा परम्परागत चुलोमै फर्किनुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ।
सडक सञ्जाल विस्तार भएपछि जिल्लाका अधिकांश गाउँबस्तीमा ग्यासको प्रयोग बढेको थियो। तर पछिल्लो समय बजारमा ग्यासको आपूर्ति घटेपछि खाना पकाउन दाउराको विकल्प रोज्न थालिएको हिमाली गाउँपालिकाकी स्थानीय रमिता बुढाले बताउनुभयो।
वर्षामा दाउरा खोज्न पनि कठिन
वर्षायाम भएकाले वनमा दाउरा सहजै पाउन कठिन छ। भिजेको दाउरा भए पनि ग्यास नपाएपछि बाध्य भएर त्यसैको जोहो गर्नुपरेको स्थानीय बताउँछन्।
ग्यासको अभाव गाउँभन्दा बजार क्षेत्रमा झनै बढी देखिएको छ। पहिले बिक्रेताले घरघरमै ग्यास पुर्याउने गरे पनि अहिले डिलरबाटै कम परिमाणमा ग्यास प्राप्त हुन थालेपछि उपभोक्ताले समस्या भोगिरहेका छन्।
होटल व्यवसायी पनि मारमा
बेतालमाडौँ, बाम्का, फालासैन, ताँप्रीसेरा, बल्दे, तिपाडा, मार्तडी, कोल्टी, पीलिचौर र धुलाचौरलगायत बजारमा ग्यासको अभाव रहेको बताइएको छ।
धुलाचौरका होटल व्यवसायी रामबहादुर रावतका अनुसार ग्यास नपाउँदा होटल सञ्चालनमै समस्या हुन थालेको छ।
जिल्लाको विकट बजार धुलाचौरमा केही व्यापारीले फाटफुट रूपमा ग्यास बिक्री गरिरहेका छन्। स्थानीय ग्यास विक्रेता हस्तबहादुर मल्लका अनुसार साउनयता आफूले १२२ वटा मात्र सिलिण्डर प्राप्त गर्नुभएको छ। पछिल्लो पटक आएको ३० वटा सिलिण्डर पनि छिट्टै सकिने अवस्था रहेको उहाँले बताउनुभयो।
मूल्य २ हजार ६ सयसम्म
बाजुरामा हाल एउटा ग्यास सिलिण्डरको मूल्य रु. २,२०० देखि रु. २,६०० सम्म पर्ने गरेको छ। तर मूल्य तिर्न तयार भए पनि उपभोक्ताले आवश्यक परेको समयमा ग्यास पाउन नसकेको स्थानीयको गुनासो छ।
ग्यास आपूर्ति सहज बनाउन जिल्लाका व्यापारीले केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका थिए। तर हालसम्म मागअनुसार आपूर्ति हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार ग्यास अभाव भए पनि कालोबजारी भएको प्रमाण हालसम्म फेला परेको छैन। उहाँका अनुसार बाहिरी क्षेत्रबाटै पर्याप्त ग्यास नआएका कारण जिल्लामा अभाव देखिएको हो।
