प्रहरीको सक्रियताले जंगलमा लुकाइएको भरुवा बन्दुक बरामद

बाजुरा, भदौ ४ – बाजुरामा नियमित गस्तीमा खटिएको प्रहरीले सामुदायिक वनभित्र बेवारिसे अवस्थामा लुकाइराखिएको भरुवा बन्दुक बरामद गरेको छ।

बुढीनन्दा नगरपालिका-९, लाउने भिमपानी सामुदायिक वनस्थित छेल ढुङ्गादेखि डप्क जाने बाटोको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले एकनाले भरुवा बन्दुक फेला पारेको हो।

अस्थायी प्रहरी पोष्ट पाण्डुसैनबाट प्रहरी सहायक निरीक्षक गणेशबहादुर खड्काको कमाण्डमा खटिएको तीन सदस्यीय गस्ती टोलीले नियमित गस्तीका क्रममा साँझ करिब ७ः४० बजे बन्दुक फेला पारेको थियो। प्रहरीले बरामद बन्दुकलाई कानुनी प्रक्रिया पूरा गरी राति ८ः२० बजे प्रहरी पोष्टमा ल्याएर सुरक्षित राखेको जनाएको छ।

सुनसान वन क्षेत्रमा लुकाइराखिएको हतियार प्रहरीको नियमित निगरानी र गस्तीका क्रममा फेला पर्नुले सुरक्षा सतर्कता प्रभावकारी रहेको देखिएको छ। सम्भावित आपराधिक गतिविधि तथा अवैध हतियारको प्रयोग रोक्न प्रहरीले ग्रामीण तथा वन क्षेत्रसम्म निगरानी बढाएको जनाएको छ।

बरामद भरुवा बन्दुक कसले, कहिले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनासँग सम्बन्धित व्यक्तिको पहिचान तथा हतियारको स्रोत खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।उक्त स्थान अस्थायी प्रहरी पोष्ट पाण्डुसैनबाट करिब ४ किलोमिटर पश्चिममा पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *