भदौ ४
बाजुरा – लगातारको वर्षापछि बाजुराको गौमुल गाउँपालिका-३ कटीगाउँमा पहिरो जाँदा दुईवटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। पहिरोबाट मानवीय क्षति नभए पनि घरमा रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायतका सामग्री तथा चौपायामा ठूलो क्षति पुगेको छ।
मिति २०८३ भदौ ४ गते साँझ करिब ४ः३० बजे घरमाथिबाट पहिरो खसेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गौमुलबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर शाहको कमाण्डमा तीनजनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली राति करिब ९ः३० बजे घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेको हो।

प्रहरीका अनुसार गौमुल-३ कटीगाउँका ५७ वर्षीय पुणिमल बोहराको ढुंगा-माटोले छाएको तीनतले घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। पहिरोमा घरमा रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायतका सामग्री पुरिनुका साथै गोठमा रहेका तीनवटा गाई समेत पुरिएका छन्।
यस्तै, सोही स्थानकी ३८ वर्षीया बुदी बोहराको तीनतले घर पनि पूर्णरूपमा क्षति भएको छ। उक्त घरमा रहेका सामग्रीसहित गोठमा बाँधिएका दुईवटा गाई, एक कुखुरा र सातवटा खरायो पहिरोमा पुरिएका छन्।
पहिरोका कारण घटनास्थल आसपासका थप १२ वटा घरसमेत उच्च जोखिममा परेका छन्। जोखिममा रहेका तथा क्षतिग्रस्त दुई घरधुरीका गरी जम्मा १४ घरका करिब ११५ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई स्थानीय देवेन्द्र धामीको खाली जमिनमा वडा कार्यालयबाट उपलब्ध गराइएको त्रिपालबाट अस्थायी टहरा निर्माण गरी राखिएको छ। लगातार वर्षा भइरहेका कारण पहिरो थप खस्ने जोखिम कायमै रहेको र रातिको समयमा उद्धार तथा राहत व्यवस्थापनमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासन, प्रहरी तथा जनप्रतिनिधिले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्दै थप क्षति हुन नदिन आवश्यक सतर्कता अपनाइरहेका छन्। वर्षा नरोकिएसम्म जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षित स्थानमा रहन स्थानीयवासीलाई आग्रह गरिएको छ।

