भदौ ४ — लामो समयदेखि दूधको भुक्तानी नपाएर समस्यामा परेका किसानले पछिल्लो समय राहत महसुस गर्न थालेका छन्। काभ्रेका दुग्ध किसान रामप्रसाद सापकोटाले आठ महिनासम्म रोकिएको दूधको भुक्तानी अहिले करिब दुई महिनामै पाउन थालेका छन्।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) मा किसानको करिब ७२ करोड रुपैयाँ बक्यौता थियो। संस्थानका गोदाममा ६०० टन दूध पाउडर र ४५० टन बटर थन्किएको अवस्था थियो।
डा. शरणकुमार पाण्डेको नेतृत्वमा बजार विस्तार र बिक्री केन्द्र सञ्चालन गरेपछि मौज्दात घट्दै गएको छ। अहिले दूध पाउडर १४० टन र बटर १३५ टनमा झरेको छ।
डिडिसीका अनुसार अतिरिक्त सरकारी अनुदानबिना नै ६० करोड रुपैयाँभन्दा बढी किसानको बक्यौता भुक्तानी गरिएको छ। साथै पुरानो ३ करोड रुपैयाँभन्दा बढी ऋण समेत तिरिएको र दैनिक करिब ८० हजार लिटर दूध बिक्रीबाट झन्डै ९ लाख रुपैयाँ नाफा हुन थालेको दाबी गरिएको छ।
भुक्तानी नियमित हुन थालेपछि किसानको आर्थिक समस्या कम हुँदै गएको छ। उनीहरूका लागि मोबाइलमा आउने ‘खातामा रकम जम्मा भएको छ’ भन्ने सन्देश अहिले मेहनतको मूल्य पाएको खुसीको संकेत बनेको छ।
