हेमा भट्ट
कञ्चनपुर – कृष्णपुर नगरपालिका-९ स्थित रिभरसाइड खेलमैदान अहिले खेलकुद गतिविधिसँगै पशु चौपाया चराउने तथा नुहाउने स्थलका रूपमा समेत प्रयोग हुन थालेको छ। सार्वजनिक लगानीमा निर्माण तथा विकास गरिएको यस खेलमैदानभित्र दर्जनौँ भैंसी चरिरहेको, हिलो तथा पानीमा नुहाइरहेको दृश्य देखिन थालेपछि मैदानको संरक्षण र व्यवस्थापनबारे स्थानीयस्तरमा गम्भीर चासो बढेको छ।
रिभरसाइड खेलमैदान कृष्णपुर क्षेत्रको पुरानो र महत्वपूर्ण खेलकुदस्थल हो। यहाँ विभिन्न समयमा राष्ट्रिय कलाकारको प्रस्तुति, गौरा पर्वलगायतका सांस्कृतिक कार्यक्रम, सभा, साधारणसभा तथा अन्य सामुदायिक कार्यक्रम आयोजना हुँदै आएका छन्। गौरा पर्वका अवसरमा रंगीन बन्दै आउने यो मैदान भने संरक्षण र व्यवस्थापनको अभावमा आफ्नो पुरानो रौनक गुमाउँदै गएको स्थानीयको गुनासो छ।


पञ्चाधीन माध्यमिक विद्यालयका विद्यार्थीले समेत खेल अभ्यास तथा विभिन्न खेलकुद गतिविधिका लागि प्रयोग गर्ने यो मैदान महिला, पुरुष, युवा तथा खेलाडी सबैका लागि साझा खेलस्थल हो। स्थानीयस्तरका प्रतियोगिता, अभ्यास र सामुदायिक कार्यक्रमका कारण रिभरसाइड खेलमैदानले कृष्णपुर-९ को सामाजिक तथा खेलकुद जीवनमा महत्वपूर्ण स्थान ओगटेको छ।
मोहोना नदीको किनारसँग जोडिएको रिभरसाइड क्षेत्र प्राकृतिक तथा पर्यटकीय दृष्टिले पनि उत्तिकै सम्भावनायुक्त छ। पूर्वतर्फ मोहोना नदीमाथिको झोलुङ्गे पुल, पश्चिमतर्फ कालोपत्रे कृषि सडक, उत्तरतर्फ सडक बाल उत्थान चिल्ड्रेन पार्क तथा दक्षिणतर्फ हरियालीयुक्त नर्सरी रहेको यस क्षेत्रमा खेलमैदान, रिभरसाइड भवनलगायतका संरचना छन्। व्यवस्थित संरक्षण र उपयोग गर्न सके यो क्षेत्र खेलकुद, मनोरञ्जन, पर्यटन तथा सामुदायिक गतिविधिको आकर्षक केन्द्र बन्न सक्ने सम्भावना छ।
तर खेलमैदानभित्र भैंसी तथा अन्य चौपाया निर्वाध प्रवेश गर्ने अवस्थाले मैदानको घाँस, माटो र भौतिक संरचनामा असर पुग्न सक्ने देखिन्छ। चौपायाका कारण फोहोर तथा हिलो बढ्नुका साथै खेलाडी, विद्यार्थी, बालबालिका र सर्वसाधारणले प्रयोग गर्ने वातावरणमा समेत असहजता सिर्जना हुन सक्छ।


यद्यपि पशुपालन स्थानीय किसानको महत्वपूर्ण जीविकोपार्जनको माध्यम भएकाले पशुपालकलाई दोषारोपण गरेर मात्र समस्या समाधान हुँदैन। सार्वजनिक संरचनाको संरक्षणसँगै पशुपालक किसानको आवश्यकता र बाध्यतालाई समेत ध्यानमा राखेर व्यवहारिक तथा दीर्घकालीन समाधान खोजिनुपर्छ।
स्थानीय पशुपालकलाई आफ्ना भैंसी तथा अन्य चौपाया खेलमैदानभित्र बाँध्ने, चराउने वा नुहाउने कार्य नगरी वैकल्पिक स्थान प्रयोग गर्न आग्रह गर्न सकिन्छ। वडा कार्यालय र नगरपालिकाले पशुपालकसँग समन्वय गरी चौपायाका लागि उपयुक्त चरन तथा पानीको स्थान पहिचान गर्न सके समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ।
त्यसैगरी खेलमैदानको संरक्षणका लागि आवश्यक स्थानमा तारबार तथा मेसजाली थप गर्ने, प्रवेशद्वार व्यवस्थित गर्ने, ‘खेलमैदानमा चौपाया प्रवेश निषेध’ लगायतका सूचना बोर्ड राख्ने र नियमित अनुगमन गर्ने व्यवस्था आवश्यक देखिन्छ। संरक्षणमा स्थानीय खेलकुद समिति, वडा कार्यालय, टोल विकास संस्था, युवा क्लब, विद्यालय, खेलाडी, पशुपालक र स्थानीय बासिन्दाको संयुक्त सहभागिता प्रभावकारी हुन सक्छ।
पशुपालन गर्नुपर्ने किसानको बाध्यता र आवश्यकतालाई सम्मान गर्दै सार्वजनिक खेलमैदान सुरक्षित राख्न सबै पशुपालकले आफ्ना चौपाया तोकिएको वा वैकल्पिक स्थानमा राख्न सहयोग गर्न आवश्यक छ। आज खेलमैदान जोगाउन गरिएको सानो प्रयासले भोलि आफ्नै गाउँका बालबालिका, विद्यार्थी र युवाले सुरक्षित तथा व्यवस्थित खेलमैदान पाउने वातावरण बन्न सक्छ।


सार्वजनिक सम्पत्ति सरकारको मात्र नभई सबै नागरिकको साझा सम्पत्ति हो। त्यसैले खेलमैदानमा भैंसी वा अन्य चौपाया बाँध्ने, चराउने तथा नुहाउने कार्यबाट टाढा रहनु सबैको हितमा हुनेछ। समस्या समाधानका क्रममा सम्बन्धित निकायले तत्काल कारबाहीभन्दा पहिले सम्झाइ-बुझाइ, वैकल्पिक व्यवस्थापन र सहकार्यलाई प्राथमिकता दिनु आवश्यक छ।
मोहोना नदीको कलकल बगिरहेको पानी, झोलुङ्गे पुल, हरियाली, कृषि सडक, चिल्ड्रेन पार्क र खेलमैदान एउटै क्षेत्रमा हुनु रिभरसाइडको विशेषता हो। संरक्षण र व्यवस्थापन गर्न सके यहाँ बिहान-बेलुका हिँडडुल गर्ने, बालबालिकाले मनोरञ्जन लिने, विद्यार्थी तथा युवाले खेलकुद अभ्यास गर्ने, महिला-पुरुषले विभिन्न गतिविधिमा सहभागी हुने र राष्ट्रियस्तरका कलाकार तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुने आकर्षक सार्वजनिक गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।
त्यसका लागि स्थानीय सरकार, वडा कार्यालय, विद्यालय, खेलकुद क्षेत्र, पशुपालक किसान र आम नागरिकबीच सहकार्य आवश्यक छ। पशुपालकको जीविकोपार्जन पनि सुरक्षित होस्, सार्वजनिक खेलमैदान पनि सुरक्षित रहोस् र रिभरसाइडको पुरानो रौनक पनि फर्कियो-यही उद्देश्यका साथ सकारात्मक व्यवस्थापन अघि बढाउनु आजको आवश्यकता हो।
रिभरसाइड खेलमैदानमा देखिएको भैंसीको बथानलाई विवादको विषय मात्र नभई सार्वजनिक सम्पत्ति संरक्षण, पशुपालन व्यवस्थापन, खेलकुद विकास, सांस्कृतिक गतिविधि र स्थानीय पर्यटन प्रवर्द्धनलाई एकैसाथ जोडेर समाधान खोज्ने अवसरका रूपमा लिन सकिन्छ। सम्बन्धित निकाय र स्थानीय समुदायले समयमै ध्यान दिए रिभरसाइड क्षेत्रलाई व्यवस्थित, सुन्दर, सुरक्षित र सबैका लागि उपयोगी सार्वजनिक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना अझै प्रशस्त छ।
अनलाइन मा पत्रिकामा ४ पेजमा यद्यपि ठाउँ भए मा
