असोज ७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानका प्रतिनिधिबीच भएको वार्ता ‘धेरै राम्रो’ र फलदायी भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।
बुधबार एसियाली बजारको प्रारम्भिक कारोबारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९८.९१ अमेरिकी डलरमा झरेको छ। त्यस्तै अमेरिकी कच्चा तेलको प्रमुख बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ८९.९३ डलरमा कारोबार भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटका क्रममा ट्रम्पले अमेरिका–इरान प्रतिनिधिबीच करिब तीन घण्टा भएको बैठक सकारात्मक र अत्यन्तै फलदायी रहेको बताउनुभएको थियो। उहाँका अनुसार दुवै पक्षबीच अर्को बैठक पनि निकट भविष्यमै हुने तय भएको छ।
ट्रम्पको यस्तो अभिव्यक्ति संयुक्त राष्ट्रसङ्घको महासभामा इरानप्रति कडा धारणा व्यक्त गरेको केही घण्टापछि आएको हो। उहाँले इरानसँग सम्झौता गर्ने वा अर्को कठोर कदम चाल्ने विषयमा महत्वपूर्ण निर्णय लिनुपर्ने बताउनुभएको थियो।
अमेरिका–इरान तनाव र मध्यपूर्वको द्वन्द्वका कारण पछिल्लो समय विश्व बजारमा तेल आपूर्तिलाई लिएर चिन्ता बढ्दै आएको छ। विशेषगरी स्ट्रेट अफ हर्मुजमा देखिएको अवरोधले विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बजारमा रहँदै आएको छ।
यसैबीच, साउदी अरबले द्वन्द्वका कारण रोकिएको आफ्नो इस्ट–वेस्ट तेल पाइपलाइन पुनः सञ्चालन गर्ने तयारी थालेको छ। उक्त पाइपलाइनले स्ट्रेट अफ हर्मुजको सम्भावित अवरोध छल्दै तेल निर्यात गर्न सघाउने भएकाले विश्व तेल बजारका लागि यसको सञ्चालनलाई महत्वपूर्ण मानिएको छ।
एआई क्षेत्रमा लगानी बढ्दा एसियाली बजारमा प्रभाव
तेल बजारसँगै बुधबार एसियाली सेयर बजारमा मिश्रित कारोबार देखिएको छ। ताइवानको ताइएक्स परिसूचक ०.८ प्रतिशतले बढेको छ। चिप निर्माता कम्पनी टीएसएमसीको प्रमुख बजारसमेत रहेको ताइवानमा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा बढ्दो लगानी र उत्साहले बजारलाई प्रभावित गरेको छ।
एन्थ्रोपिक र ओपनएआईले मंगलबार नयाँ तथा तुलनात्मक रूपमा सस्ता एआई मोडल सार्वजनिक गरेपछि प्रविधि क्षेत्रमा लगानीकर्ताको चासो थप बढेको छ। फेसबुकको मातृ कम्पनी मेटाले पनि एआई एजेन्ट ‘म्युज’ सार्वजनिक गरेपछि कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको बताइएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने प्रस्तावित शिखर बैठकतर्फ पनि लगानीकर्ताको ध्यान केन्द्रित भएको छ। अमेरिका–चीन व्यापार, शुल्क तथा लामो समयदेखि जारी आर्थिक तनावसँगै मध्यपूर्वको द्वन्द्व र इरानसँग सम्बन्धित विषय पनि वार्तामा महत्वपूर्ण बन्न सक्ने विश्लेषण गरिएको छ।
