भारी वर्षाको जोखिममा रेड अलर्ट, ७७ जिल्लाका विपत् संयन्त्र उच्च सतर्क

असोज ७ गते । अन्डमान सागर आसपास विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै गएपछि असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना बढेको छ। जोखिमलाई ध्यानमा राख्दै नेपाल मौसम विज्ञान विभागले रेड अलर्ट जारी गरेको छ।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा उच्च हावाहुरीसहित ठूलो वर्षा हुन सक्नेछ। कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण भूक्षय, बाढीपहिरो, गेग्य्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने विभागले जनाएको छ। ठूला–साना नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य र दैनिक जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। विभागले जोखिमका समयमा अनावश्यक यात्रा नगर्न तथा पूर्वतयारी अपनाउन आग्रह गरेको छ।

यसैबीच गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम विज्ञान विभाग पुगेर असोज ९ देखि ११ गतेसम्मको सम्भावित वर्षाबारे जानकारी लिनुभएको छ। विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठलगायतले मन्त्रीद्वयलाई सम्भावित विपत्को जोखिमबारे जानकारी गराउँदै उच्च सतर्कता आवश्यक रहेको बताउनुभयो।

मन्त्री श्रेष्ठले पूर्वसूचना र पूर्वतयारीमा एकीकृत रूपमा परिचालित हुँदै उच्च समन्वयमा काम गर्न निर्देशन दिनुभयो। उहाँले कृषि, पर्यटन र यातायातलगायत सबै क्षेत्रलाई सतर्क रहन आग्रह गर्नुभयो। गृहमन्त्री गुरुङले पनि सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको बताउँदै नदी तटीय क्षेत्रमा टोली परिचालनदेखि नागरिकलाई सचेत गराउनेसम्मको योजना बनाइएको जानकारी दिनुभयो।

अन्डमान सागरमा विकसित प्रणालीको प्रभावलाई ध्यानमा राख्दै ७७ वटै जिल्लाका विपत् प्रतिकार्य संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अन्तर्गत बाढीपहिरो, डुबान, नदी कटान र चट्याङलगायत सम्भावित विपत्का लागि सङ्घ, प्रदेश, स्थानीय तह र सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गरिएको छ। केन्द्रदेखि स्थानीय तहसम्मका मनसुन प्रतिकार्य कमान्ड पोस्ट तथा आपत्कालीन कार्य सञ्चालन केन्द्र चौबिसै घण्टा सञ्चालनमा राखिएको उहाँले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *