प्यूठानमा तेस्रो लालीगुराँस कप टी–२० क्रिकेट हुँदै

बिजुवार, भदौ ९ गते । प्यूठानको झिमरुक गाउँपालिका–८, दिहाल्नामा तेस्रो संस्करणको लालीगुराँस कप टी–२० खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी कात्तिक ७ देखि १५ गतेसम्म प्रस्तावित लालीगुराँस रङ्गशालामा सञ्चालन गरिने आयोजकले जनाएको छ।

दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमको आयोजनामा हुने प्रतियोगिताको मुख्य उद्देश्य क्रिकेटमा युवाको बढ्दो आकर्षणलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नुका साथै स्थानीय तथा जिल्लास्तरमा रहेका खेलाडीको प्रतिभा पहिचान गर्नु रहेको आयोजक संस्थाका अध्यक्ष गोविन्द गिरीले बताउनुभयो।

उहाँका अनुसार प्रतियोगिताले युवालाई खेलकुदमार्फत सकारात्मक र सिर्जनात्मक गतिविधिमा जोड्नेछ। साथै दिहाल्नालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पनि प्रतियोगिताले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेताले एक लाख रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ५० हजार रुपियाँ पाउनेछ भने विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

दिहाल्नाको उक्त मैदानमा २०७१ सालदेखि औपचारिक रूपमा क्रिकेट खेल सञ्चालन हुँदै आएको छ। त्यसयता मैदानमा स्थानीय तथा जिल्लास्तरका विभिन्न क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *