न्युयोर्क, असोज ९ गते । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच राष्ट्रसङ्घ मुख्यालयमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि स्थानीय समयअनुसार साँझ ६ः३० बजे महासचिव गुटेरेससँग भेट गर्नुभएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभयो। उहाँले रसुवाको भोटेकोशी नदीमा आएको विपद्का कारण नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको जानकारी गराउँदै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनुभयो।
महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। उहाँले जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताउँदै नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गर्नुभयो।
गुटेरेसले सन् १९७८ मा पर्यटकका रूपमा नेपाल भ्रमण गरेको स्मरण गर्दै पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेटमा भोटेकोशी विपद्पछि नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा पनि छलफल भएको थियो। साथै अतिकम विकसित राष्ट्र (एलडीसी)को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा विस्तार गर्ने विषयमा समेत प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबीच कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
