भन्सार छली ल्याइएका २ लाख ८१ हजारभन्दा बढीका सामान बरामद

हेमा भट्ट, असोज ९
कञ्चनपुर – सीमा क्षेत्रमा हुने अवैध आयात तथा भन्सार छली नियन्त्रणलाई तीव्रता दिँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी इकाइहरूले विभिन्न स्थानबाट २ लाख ८१ हजार ६४० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार २०८३ असोज ८ गते जिल्लाका विभिन्न स्थानमा गरिएको प्रहरी परिचालन तथा निगरानीका क्रममा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामग्री बरामद गरिएको हो। बरामद सामग्रीमा नमकिन, बिडी, चिनी, पेय पदार्थ, सुर्ती तथा पटका लगायत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट नमकिन, बिडी र चिनी गरी १ लाख ११ हजार ६४० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। त्यसैगरी इलाका प्रहरी कार्यालय बेलौरीले कुखुरासहित से २ प ९२५ नम्बरको मोटरसाइकल बरामद गरेको छ, जसको अनुमानित मूल्य १ लाख ४ हजार ८ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले चिनी तथा पेय पदार्थ गरी ७ हजार ९ सय रुपैयाँ, वडा प्रहरी कार्यालय महेन्द्रनगरले ६ हजार रुपैयाँ बराबरका पटका तथा इलाका प्रहरी कार्यालय गुलरियाले बिडी र सुर्ती गरी ५१ हजार ३ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

प्रहरीले बरामद गरेका सबै सामानलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीले नियमित निगरानी, गस्ती तथा चेकजाँचलाई प्रभावकारी बनाउँदै आएको जनाएको छ। यस्ता कारबाहीले राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने अवैध गतिविधि न्यूनीकरणमा समेत सहयोग पुग्ने प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार कानूनविपरीत हुने अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरी परिचालन र निगरानीलाई निरन्तरता दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *