बजेट लेखन तीव्र बनाउन मुख्यमन्त्री भट्टको कडा निर्देशन

असोज ९

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण प्रक्रियालाई तीव्रता दिएको छ। बजेट शून्यताको अवस्था अन्त्य गर्दै प्रदेशको विकास, सेवा प्रवाह र जनअपेक्षालाई सम्बोधन गर्ने गरी बजेटलाई शीघ्र अन्तिम रूप दिने तयारी अघि बढाइएको हो। यसअघि मन्त्रिपरिषद्ले बजेट पुनरावलोकन, परिमार्जन तथा पुनर्लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको बैठकमा बजेट लेखन प्रक्रियालाई थप गतिशील बनाउने विषयमा छलफल भएको छ। बैठकमा छिटोछरितो रूपमा बजेट निर्माण सम्पन्न गर्ने, आवश्यक प्रक्रिया तत्काल अघि बढाउने तथा मन्त्रालयगत रूपमा समन्वय प्रभावकारी बनाउने विषयमा जोड दिइएको बताइएको छ।
बैठकमा प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्री, प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। मुख्यमन्त्री भट्टले सम्बन्धित मन्त्री तथा सचिवहरूलाई आ-आफ्नो मन्त्रालयअन्तर्गतको बजेट लेखन कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै समयमै प्रक्रिया टुंग्याउन निर्देशन दिनुभएको छ।

मुख्यमन्त्री भट्टले बजेटलाई केवल औपचारिक दस्तावेजका रूपमा नभई प्रदेशको आवश्यकता, जनअपेक्षा र विकासका प्राथमिकतालाई सम्बोधन गर्ने आधार बनाउने दिशामा काम अघि बढाउन जोड दिनुभएको छ। सरकारले यसअघि प्रस्तुत बजेटका सकारात्मक पक्षलाई निरन्तरता दिँदै आवश्यक सुधार र परिमार्जनसहित नयाँ प्राथमिकतामा आधारित बजेट ल्याउने तयारी गरिरहेको छ।

बजेट निर्माणको काम तीव्र पारिएसँगै प्रदेश सरकारले लामो समयदेखि देखिएको बजेटसम्बन्धी अन्योल अन्त्य गरी विकास निर्माण र सार्वजनिक सेवा प्रवाहलाई नियमित गतिमा फर्काउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *