भ्रष्टाचार आरोपबारे सरकार प्रमुख स्पष्ट हुनुपर्छ : खगराज भट्ट

हेमा भट्ट, फागुन २८
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारप्रति प्रतिपक्षले तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकार “मृत जस्तै निष्क्रिय” बनेको आरोप लगाएको छ। नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्टले प्रदेश सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै सरकार सुस्त, फितलो र जनअपेक्षा विपरीत काम गरिरहेको बताएका छन्।

धनगढीमा आयोजित पत्रकार भेटघाट तथा पत्रकार सम्मेलनमा बोल्दै भट्टले प्रदेश सरकारमाथि लागेका भ्रष्टाचारका आरोपबारे सरकार प्रमुखले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरे। “जनताको विश्वास लिएर बनेको सरकारमाथि गम्भीर आरोप लाग्दा त्यसबारे स्पष्टिकरण दिनु सरकारको कर्तव्य हो,” उनले भने, “तर यहाँ त आरोप लागेपछि पनि लाज पचाएर सत्तामा बस्ने प्रवृत्ति देखिएको छ।”

भट्टले सुदूरपश्चिम प्रदेश सरकारको काम गर्ने शैलीलाई “कुम्भकरण जस्तै सुतेको सरकार” भन्दै आलोचना गरे। उनका अनुसार प्रतिपक्षले पटक–पटक सदन र विभिन्न माध्यमबाट सरकारलाई खबरदारी गरे पनि सरकारले त्यसलाई बेवास्ता गर्दै आएको छ। “हामीले धेरैपटक ध्यानाकर्षण गरायौँ, तर सरकारले सुन्ने इच्छा नै देखाएन,” उनले भने।

प्रदेशको विकास निर्माणको अवस्था पनि अत्यन्तै कमजोर रहेको उनले बताए। प्रदेश संरचना निर्माणका लागि बनाइएका धेरै भौतिक संरचनाहरू जलेका, भत्केका र जीर्ण अवस्थामा पुगेका भए पनि तिनको मर्मत तथा सम्भारका काम अहिलेसम्म सुरु हुन नसकेको उनले गुनासो गरे। “प्रदेश संरचना निर्माणका लागि बनाइएका भवनहरू अहिले प्रयोगविहीन र जीर्ण अवस्थामा छन्, तर सरकारले त्यसतर्फ कुनै चासो दिएको देखिँदैन,” उनले भने।

प्रदेशको राजधानी टुंगो लगाउने विषयमा पनि सरकार असफल भएको भट्टको आरोप छ। उनका अनुसार राजधानी टुंगो लगाउन १२ बुँदे समझदारी भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन। “राजधानी तोक्ने विषयमा बारम्बार सम्झौता हुन्छ, तर कार्यान्वयन हुँदैन। आखिर किन कार्यान्वयन हुन सकेन भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्छ,” उनले बताए।

भट्टले प्रदेश सरकारले एउटै अधिवेशनबाट पारित गरेको ऐनलाई आफैंले फेरि परिवर्तन गर्ने प्रयास गर्नु गैरजिम्मेवार कदम भएको बताए। “सरकारले आफैं ल्याएको ऐन पारित गराउँछ र केही समयपछि त्यही ऐन बदल्ने प्रयास गर्छ। यसले सरकारको नीति र निर्णय कति अस्थिर छ भन्ने स्पष्ट देखाउँछ,” उनले भने।

वन मन्त्रालयसँग सम्बन्धित विवादबारे पनि उनले टिप्पणी गरेका छन्। सदन सञ्चालन हुन नसकेपछि उक्त विषय मिडियामा आएको उल्लेख गर्दै उनले अब यस्ता विषयहरूमा प्रतिपक्ष निरन्तर रूपमा आवाज उठाउने बताए। “सदन नचल्दा जनताका मुद्दा बाहिर आउँदैनन् भन्ने होइन। अब हामी मिडियामार्फत पनि निरन्तर रूपमा जनताका प्रश्न उठाउनेछौँ,” उनले भने।

भट्टले लोकतन्त्रमा जनता नै इतिहासका निर्माता हुने भन्दै सरकारलाई जनभावना अनुसार काम गर्न आग्रह गरे। “जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर काम नगर्ने हो भने कुनै पनि सरकार टिक्दैन,” उनले चेतावनी दिए।

उनले संघीयताको मर्म बुझेर प्रदेश सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए। संघीय प्रणालीलाई सफल बनाउन पारदर्शिता, जवाफदेहिता र सुशासन अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक दल र सरकार जिम्मेवार भएर काम गर्नुपर्ने बताए।

भट्टले हालै सम्पन्न निर्वाचनमा नयाँ शक्तिको उदय भएको प्रसंग पनि उठाए। उनले स्वतन्त्र पार्टीको उल्लेखनीय जितलाई लोकतन्त्रमा जनताको असन्तुष्टिको संकेतका रूपमा व्याख्या गर्दै पुराना राजनीतिक दलहरूले जनताको भावना बुझ्न नसक्दा यस्तो परिणाम आएको बताए। “जनताले परिवर्तन चाहेका छन्। पुराना दल र नेताहरूले आत्मसमिक्षा नगर्ने हो भने जनताले फेरि पनि विकल्प खोज्नेछन्,” उनले भने।

कार्यक्रममा उनले लोकतन्त्रलाई सुदृढ बनाउन सरकार र प्रतिपक्षबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको बताए। साथै सुशासन, पारदर्शिता र जनउत्तरदायित्वका आधारमा प्रदेश सरकार अघि बढ्न सके मात्र सुदूरपश्चिमको विकास सम्भव हुने धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply