विवाह भएको १४ दिनमै कृष्णपुरकी बिन्दु धामीको रहस्यमय मृत्यु

कञ्चनपुर, फागुन २८ – विवाह भएको मात्र दुई सातामै कञ्चनपुरकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। शुक्लाफाँटा नगरपालिका–७ कालापानीकी २२ वर्षीया बिन्दु धामी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्।

१४ फागुन २०८२ मा कृष्णपुर नगरपालिका–७ मटैयाकटानकी बिन्दु धामीको शुक्लाफाँटा नगरपालिका–७ कालापानीका २९ वर्षीय भीम धामीसँग मागी विवाह भएको थियो। विवाह भएको १४ दिनमै २७ फागुनमा उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्।

मृतक बिन्दुकी हजुरआमा तारा धामीले धुमधामका साथ विवाहको खुसी साट्न नपाउँदै नातिनीको शंकास्पद मृत्यु भएको बताइन्।

“विवाह मागी नै भएको हो, हामीले पनि धुमधामका साथ गरिदियौँ,” उनले भनिन्, “घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ, दोषीले उन्मुक्ति पाउनु हुँदैन र निर्दोष फस्नु हुँदैन।”

बिन्दु कक्षा १२ मा अध्ययनरत थिइन्। उनले ब्युटी पार्लर तालिमसमेत लिएकी थिइन्। कुटुम्ब माग्न आएपछि धार्मिक परम्परा अनुसार विवाह गरिएको माईती पक्षको भनाइ छ। तर विवाह भएको छोटो समयमै मृत्यु भएकाले श्रीमानमाथि शंका लागेको परिवारले जनाएको छ।

मृतकका हजुरबुवा प्रेमसिंह धामीले विवाह भएको छोटो समयमै मृत फेला पर्नु रहस्यमय भएको बताए। “नातिनीको यौनाङ्गबाट रगत देखिएकाले हामीलाई थप शंका लागेको छ,” उनले भने, “विवाह पनि झुक्याएर गरिएको जस्तो देखिन्छ।”

ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज राजेश बस्नेतले बिन्दु धामी मृत्यु प्रकरणको छानबिन भइरहेको जानकारी दिए।

“पोस्टमार्टम भइसकेको छ, रिपोर्ट आइतबारसम्म आउनेछ,” उनले भने, “शव आफन्तलाई बुझाइसकिएको छ र घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ।”
कञ्चनपुरका सामाजिक अगुवा रामदत्त भट्टले वैवाहिक बन्धनमा बाँधिएको छोटो समयमै भएको यस्तो घटनामा गहिरो पीडा लुकेको हुनसक्ने भन्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए।

“यस्तो सामाजिक र फौजदारी प्रकृतिको अपराध लुकाइयो भने भोलि समाजमा अरु महिला पनि शिकार हुन सक्छन्,” उनले भने, “यो एउटा व्यक्तिको मात्र होइन, सिङ्गो समाजसँग जोडिएको घटना हो।”

महिला अगुवा तथा नागरिक समाजले पनि बिन्दु धामी मृत्यु प्रकरणमा गम्भीर चासो व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषी पहिचान गरेर कानुनी कारबाही गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply