रैकवार खबर वैशाख २०
कैलाली – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा “शान्तिपूर्ण भविष्यको निर्माण, मानव अधिकारको संरक्षण र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन” भन्ने मूल नारासहित कैलालीमा प्रभावशाली ऐक्यबद्धता र्याली सम्पन्न भएको छ।


नेपाल पत्रकार महासंघ कैलालीको आयोजनामा २०८३ साल बैशाख २० गते आयोजित उक्त र्यालीमा पत्रकार, नागरिक समाज, अधिकारकर्मी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले प्रेस स्वतन्त्रताको पक्षमा नारा लगाउँदै शान्तिपूर्ण समाज निर्माणमा स्वतन्त्र सञ्चार माध्यमको भूमिकालाई उजागर गरेका थिए।
कार्यक्रममा महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय सदस्य योगेन्द्र बलायर, प्रदेश महासचिव शिवराज भट्ट लगायत वक्ताहरूले लोकतन्त्रको मेरुदण्डको रूपमा रहेको स्वतन्त्र प्रेसमाथि हुने हस्तक्षेप र दबाबप्रति चिन्ता व्यक्त गर्दै पत्रकारको सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र सत्य सूचना प्रवाहको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरे।



उनीहरूले प्रेसमाथि हुने धम्की, आक्रमण तथा आर्थिक र राजनीतिक दबाब अन्त्य गर्न स्पष्ट कानुनी तथा नीतिगत व्यवस्था आवश्यक रहेको औंल्याए। साथै जिम्मेवार, तथ्यपरक र उत्तरदायी पत्रकारितामार्फत मात्रै शान्तिपूर्ण, पारदर्शी र समृद्ध समाज निर्माण सम्भव हुने धारणा राखे।
कार्यक्रममा प्रेस स्वतन्त्रताको संरक्षण, मानव अधिकारको प्रवर्द्धन र सामाजिक न्यायका लागि सबै पक्ष एकजुट हुनुपर्ने सन्देश दिइएको थियो। सहभागीहरूले हस्ताक्षर अभियानमार्फत प्रेस स्वतन्त्रता सुदृढीकरणप्रति ऐक्यबद्धता जनाएका थिए।
कार्यक्रमको सञ्चालन जिल्ला महासचिव तेजबहादुर भट्टले गरेका थिए भने समापन गर्दै अध्यक्ष देउवाले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि किसिमको हस्तक्षेप र दमनविरुद्ध सशक्त र संगठित आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिए।



यसैबीच, कार्यक्रममा युवाहरूको सक्रिय उपस्थिति र नागरिक समाजको साथले प्रेस स्वतन्त्रता केवल पत्रकारको मात्र नभई सम्पूर्ण नागरिकको अधिकार भएको सन्देश थप मजबुत बनेको छ। सहभागीहरूले सत्य, निष्पक्ष र विश्वसनीय सूचना नै लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै आगामी दिनमा प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर सहकार्य र सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।सन्देश स्पष्ट छ – स्वतन्त्र प्रेस भए मात्रै शान्ति, सुशासन र समृद्धिको बाटो सुनिश्चित हुन्छ।

