हेमा भट्ट, कैलाली
कैलाली निर्माण व्यवसायी संघको २९औं साधारण सभा तथा १२औं अधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका प्रत्यासी दिर्घराज जोशी नेतृत्वको प्यानलले भव्य कार्यक्रमबीच आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेको छ। संगठनलाई पारदर्शी, व्यवसायमैत्री र सुदृढ बनाउने उद्देश्यसहित प्रस्तुत गरिएको उक्त प्यानलले निर्माण व्यवसायी समुदायमा नयाँ ऊर्जा र उत्साह थपेको छ।


बैशाख २० गते आइतबार धनगढीस्थित होटल पौवा (फ्लोरा), चटकपुरमा आयोजित घोषणा सभामा बोल्दै अध्यक्षका प्रत्यासी जोशीले संघलाई सबै व्यवसायीको साझा थलोका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थागत पारदर्शिता, पेशागत हकहितको संरक्षण र निर्माण क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै अनुभवी र सन्तुलित टिम निर्माण गरिएको बताए।


घोषणा सभामा प्रस्तुत गरिएको टिम अनुसार वरिष्ठ उपाध्यक्षमा धिरेन्द्र साउँद, प्रथम उपाध्यक्षमा विक्रम विष्ट र द्वितीय उपाध्यक्षमा डम्बर चन्द उम्मेदवार रहेका छन्। महासचिव पदमा अमर बहादुर खड्का, नीतिगत उपमहासचिवमा योगेन्द्र बहादुर चन्द र आन्तरिक उपमहासचिवमा सिद्धराज भट्ट रहेका छन्।


त्यसैगरी कोषाध्यक्षमा सुरेन्द्र राज भट्ट तथा सह-कोषाध्यक्षमा मणिराज भट्टलाई उम्मेदवार बनाइएको छ। सदस्यतर्फ चक्र बहादुर मल्ल, बिनोद बिष्ट, टेक बहादुर खड्का, टेकराज जोशी, शिवराज सापकोटा र रुद्रप्रसाद पन्त रहेका छन्।
समावेशी प्रतिनिधित्वलाई जोड दिँदै महिला सदस्यमा शुभलक्ष्मी हमाल र आदिवासी/दलित सदस्यमा मदन बिसीलाई उम्मेदवार बनाइएको छ।


भौगोलिक सन्तुलनलाई ध्यानमा राख्दै विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी उम्मेदवार चयन गरिएको छ। जसअनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, टिकापुर, गौरिगंगा, घोडाघोडी, लम्किचुहा, भजनी, कैलारी, जानकी, जोशीपुर, बर्दगोरिया, मोहन्याल र चुरे गाउँपालिकाबाट प्रतिनिधिहरू समावेश छन्।


कार्यक्रममा निर्माण व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको उक्त सभालाई संगठन सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।


यसअघि अध्यक्ष पदका दाबेदारका रूपमा रहेका धिरेन्द्र साउँदले नै जोशी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचन समीकरण थप रोचक बनेको छ। यसले आगामी अधिवेशनमा प्रतिस्पर्धालाई अझ सशक्त र उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।


संघको अधिवेशन यही बैशाख २४ र २५ गते संघकै कार्यालयमा हुने तय भएको छ। अधिवेशन नजिकिँदै जाँदा निर्माण व्यवसायी समुदायमा नेतृत्व चयनलाई लिएर चासो र सरोकार बढ्दै गएको देखिन्छ।


















