खेमराज भट्ट,जेठ १९
काठमाडौ – सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारी, उच्च आम्दानी तथा सहज वैदेशिक अवसरको प्रलोभन देखाएर भारतीय सीमावर्ती क्षेत्रमा लगेर श्रम शोषण तथा ठगीमा फसाइएका ४५३ नेपाली नागरिकको सफल उद्धार गरिएको छ।
भारतस्थित नेपाली राजदूतावास नयाँ दिल्लीले उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी तथा गैरसरकारी संस्था KIN India सँगको समन्वयमा सञ्चालन गरेको विशेष उद्धार अभियानमार्फत ११५ महिला र ३३८ पुरुषलाई सुरक्षित रूपमा उद्धार गरी नेपाल फर्काएको जनाएको छ।
राजदूतावासका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमार्फत आकर्षक तलब, निःशुल्क आवास तथा वैदेशिक रोजगारीको झुट्टा आश्वासन दिएर नेपाली युवायुवतीलाई भारतका विभिन्न सीमावर्ती क्षेत्रमा पुर्याई श्रम शोषण, मानव बेचबिखन तथा आर्थिक ठगी गर्ने गिरोह सक्रिय रहेको सूचनाका आधारमा अभियान सञ्चालन गरिएको थियो।
उद्धार गरिएका अधिकांश नेपालीहरूलाई विभिन्न कम्पनी तथा रोजगारदाताको नाम प्रयोग गरी झुक्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कतिपयलाई तोकिएको काम र पारिश्रमिक नदिइएको, कतिपयको राहदानी तथा परिचयपत्र नियन्त्रणमा लिइएको र केहीलाई मानसिक तथा आर्थिक दबाबमा राखिएको समेत पाइएको बताइएको छ।
उद्धारपछि नेपाल फर्काइएका व्यक्तिहरूमध्ये घटनासँग सम्बन्धित रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ६ महिलासहित १९ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूले नेपाली नागरिकलाई झुट्टा आश्वासन दिई सीमापार लैजाने तथा ठगीमा संलग्न रहेको आशंका गरिएको छ।
नेपाल सरकार, भारतीय सुरक्षा निकाय तथा सम्बन्धित संस्थाबीचको प्रभावकारी समन्वयका कारण सयौं नेपाली नागरिक सम्भावित ठूलो जोखिमबाट जोगिन सफल भएका छन्। यो अभियानलाई मानव बेचबिखन तथा श्रम शोषणविरुद्धको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
नेपाली राजदूतावासले वैदेशिक रोजगारी वा आकर्षक आम्दानीका नाममा सामाजिक सञ्जालबाट आउने अविश्वसनीय प्रस्तावप्रति सचेत रहन आग्रह गरेको छ। रोजगारीका लागि विदेश जानुअघि सम्बन्धित निकायबाट जानकारी लिन, वैधानिक प्रक्रिया पूरा गर्न तथा अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न सबै नेपाली नागरिकलाई अनुरोध गरिएको छ।
यो सफल उद्धार अभियानले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न नेपाल सरकार तथा नेपाली कूटनीतिक नियोगहरू प्रतिबद्ध रहेको सन्देश दिएको छ। साथै, मानव बेचबिखन, श्रम शोषण र ठगीविरुद्ध राज्य संयन्त्र थप सक्रिय र सजग रहेको स्पष्ट पारेको छ।

