गोरखामा १ हजार ७६४ किशोरीले लगाए एचपीभी खोप

सुलीकोट, असोज १५ गते । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले गोरखामा सञ्चालन गरिएको एचपीभी खोप अभियानमा एक हजार ७६४ किशोरीले खोप लगाएका छन्। असोज ५ देखि ९ गतेसम्म चलेको अभियानमा लक्षित उमेर समूहका ९९ दशमलव ९८ प्रतिशत किशोरीले खोप लगाएका हुन्।

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरीलाई प्राथमिकतामा राखेर विद्यालयमै खोप केन्द्र स्थापना गरिएको थियो। विद्यालय नजाने किशोरीका लागि भने १० वर्ष उमेर समूहलाई लक्षित गरिएको थियो।

अभियानमा विद्यालय जाने एक हजार ७५० र विद्यालय बाहिर रहेका ११ किशोरीलाई खोप लगाइएको जनाइएको छ। सहिद लखन गाउँपालिकाका दुई किशोरी बिरामी भएर जिल्ला बाहिर रहेकाले मात्र खोप लगाउन नसकेको जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताउनुभयो।

अभियानका लागि जिल्लाभर १६८ वटा खोप केन्द्र निर्धारण गरिएको थियो। विद्यालयमै केन्द्र स्थापना गरेर खोप दिइएकाले लक्षित किशोरीसम्म सेवा सहज रूपमा पुर्‍याउन सकिएको कार्यालयले जनाएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख सिम्रन काफ्लेका अनुसार यसअघि २०८१ सालमा अभियानकै रूपमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका एक हजार ८८५ जनालाई एचपीभी खोप लगाइएको थियो। त्यसपछि एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको हो।

कार्यालयले एचपीभी खोप सुरक्षित रहेको जनाउँदै लक्षित उमेर समूहका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *