असोज १६ गते । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेप्से परिसूचक ओरालो लागेको छ। नेप्से ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा बन्द भएको हो।
कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ। यस दिन ३५६ वटा धितोपत्रका एक करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएका छन्।
कारोबार भएका कम्पनीमध्ये ६१ वटाको सेयर मूल्य बढ्दा २०७ वटाको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।
एनएमबी डिबेन्चर १०.७५ प्रतिशत–२०८९/२०९० को मूल्य सबैभन्दा धेरै १४.२९ प्रतिशत बढेर १ हजार ४०० रुपैयाँ पुगेको छ। १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९ को मूल्य पनि ८.८० प्रतिशत बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ।
घट्नेमा सिन्धु विकास बैंक अगाडि रह्यो। बैंकको सेयर मूल्य ८.५५ प्रतिशत घटेर प्रतिकित्ता ४४८ रुपैयाँमा झरेको छ। धौलागिरी लघुवित्तको मूल्य पनि ४.९५ प्रतिशत घटेर प्रतिकित्ता १ हजार ९० रुपैयाँ १० पैसा कायम भएको छ।
शुक्रबार १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९ को सबैभन्दा धेरै २६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भयो। दोस्रोमा रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूह बढेका छन् भने ११ समूहको परिसूचक घटेको छ।
