खेमराज भट्ट, असोज १६, काठमाडौं-दशैं, तिहार तथा छठजस्ता ठूला चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकाबाट देशका विभिन्न जिल्लातर्फ घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वको समयमा सार्वजनिक यातायातमा यात्रुको अत्यधिक भीड हुने, टिकट पाउन कठिन हुने तथा यात्रुको बाध्यताको फाइदा उठाउँदै बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने, फर्जी टिकट बिक्री गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र यात्रुसँग दुर्व्यवहार गर्ने जस्ता समस्या दोहोरिन सक्ने भएकाले सम्बन्धित निकायले यात्रु सुरक्षा तथा यातायात व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विशेष निगरानी सुरु गरेको छ।

यही उद्देश्यका साथ सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी भन्ने नारासहित काठमाडौंको नयाँबसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष २०८३ शुभारम्भ गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शुशिल सिंह राठौरले नयाँबसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको रिबन काटेर औपचारिक रूपमा शुभारम्भ गर्नुभएको हो। नजिकिँदै गरेका विजयादशमी, तिहार तथा छठ पर्वका अवसरमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।

यात्रु सहायता कक्ष स्थापना तथा सञ्चालनमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता समूहका प्रतिनिधिहरूलाई समेत समेटिएको छ। चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सार्वजनिक यातायात क्षेत्रमा हुनसक्ने अनियमितता नियन्त्रण गर्न सम्बन्धित सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको भन्दै सहायता कक्षलाई यात्रु र सम्बन्धित निकायबीच प्रत्यक्ष सम्पर्कको माध्यमका रूपमा प्रयोग गरिने जनाइएको छ।

सहायता कक्ष शुभारम्भ कार्यक्रममा बोल्दै एआईजी राठौरले चाडपर्वको समयमा यात्रुको बाध्यता र अत्यधिक चापलाई अनुचित आर्थिक लाभ लिने अवसर बनाउन नहुने स्पष्ट पार्नुभयो। उहाँले क्षणिक आर्थिक लाभका लागि सवारी साधनको क्षमताभन्दा बढी यात्रु चढाउने, तोकिएकोभन्दा बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने, यात्रुलाई टिकट नदिने, अनावश्यक शुल्क लिने वा यात्रुमाथि कुनै किसिमको दुर्व्यवहार गर्ने गतिविधि भए त्यस्ता कार्यमा संलग्नलाई प्रचलित कानूनअनुसार कारबाही गरिने बताउनुभयो। चाडपर्वमा यात्रुको संख्या बढ्दा सार्वजनिक यातायात व्यवसायी तथा कर्मचारीमाथि पनि जिम्मेवारी थपिने भएकाले यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्ने उहाँको भनाइ थियो।

यात्रुको बढी आवागमन हुने तथा सवारी साधनको चाप रहने क्षेत्रलाई केन्द्रमा राखेर काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ। नयाँबसपार्कसहित माछापोखरी, टोखा, तीनपिप्ले, भीमढुङ्गा, नालेभार, कलंकी, बल्खु, नागढुङ्गा, कोटेश्वर, चावहिल, फर्पिङ, साँखु, चापागाउँ र जगातीमा सहायता कक्ष सञ्चालन गरिनेछ। यी स्थानबाट उपत्यकाबाट बाहिरिने तथा उपत्यकाभित्र आवतजावत गर्ने यात्रुलाई आवश्यक सूचना, सुरक्षा तथा सहजीकरण उपलब्ध गराउने तयारी गरिएको छ।

यात्रु सहायता कक्षबाट यात्रुले आफ्नो यात्रासम्बन्धी समस्या राख्न सक्नेछन् भने सार्वजनिक यातायातको भाडादर, टिकट तथा सवारी सञ्चालनका विषयमा आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्। यात्रुबाट प्राप्त गुनासोको सम्बोधन, तोकिएको भाडा दरअनुसार सेवा सञ्चालन भए-नभएको निगरानी, फर्जी टिकटमाथि कारबाही तथा आधिकारिक व्यक्तिबाट टिकट जारी भए वा नभएको जाँच गर्ने व्यवस्था मिलाइएको छ। यसका साथै यात्रुलाई सुरक्षित आवागमनका लागि आवश्यक सचेतना तथा सूचना उपलब्ध गराउने कामसमेत सहायता कक्षबाट गरिनेछ।

चाडपर्वको समयमा सडक तथा यातायात व्यवस्थापनमा प्राकृतिक विपद्का कारण पनि समस्या आउन सक्ने भएकाले त्यसतर्फ समेत सहायता कक्षमार्फत सूचना प्रवाह गरिनेछ। मनसुनजन्य विपद्का कारण कुनै सडक अवरुद्ध भएमा वा सवारी आवागमन प्रभावित भएमा यात्रुलाई त्यससम्बन्धी जानकारी उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसले यात्रुलाई यात्रा सुरु गर्नुअघि वा यात्राकै क्रममा उत्पन्न हुने सम्भावित समस्या तथा सडक अवस्थाबारे जानकारी लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुलाई पर्न सक्ने समस्या समाधान गर्न तथा यात्रामा आवश्यक सहजीकरण उपलब्ध गराउने उद्देश्यले यात्रुको बढी भिडभाड हुने स्थानलाई प्राथमिकतामा राखेर यात्रु सहायता कक्ष स्थापना गरिएको बताउनुभयो। उहाँका अनुसार सहायता कक्षलाई केवल यात्रुको गुनासो सुन्ने स्थानका रूपमा मात्र नभई यात्रुको सुरक्षा, सूचना, भाडा निगरानी तथा यातायात व्यवस्थापनमा सहजीकरण गर्ने संयन्त्रका रूपमा परिचालन गरिनेछ।
चाडपर्वमा घर फर्किने यात्रुको संख्या उल्लेख्य रूपमा बढ्ने भएकाले टिकट बिक्रीदेखि सवारी साधनको सञ्चालनसम्मका गतिविधिलाई व्यवस्थित बनाउन यातायात व्यवसायी र सुरक्षा निकायबीच समन्वय आवश्यक हुने अधिकारीहरूको भनाइ छ। यात्रुले पनि टिकट खरिद गर्दा आधिकारिक काउन्टर वा सम्बन्धित व्यक्तिबाट टिकट लिने, तोकिएको भाडादरबारे जानकारी राख्ने तथा समस्या परेमा सम्बन्धित सहायता कक्षमा जानकारी गराउन आग्रह गरिएको छ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला तथा नेपाल यातायात स्वतन्त्र मजदुर संघका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले यातायात क्षेत्रको व्यवस्थापन, यात्रुको सहजीकरण तथा चाडपर्वमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो। चाडपर्वको समयमा यात्रुको चाप व्यवस्थापन गर्न व्यवसायी, चालक, परिचालक र यात्रु सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिइएको थियो।
यात्रु सहायता कक्षको शुभारम्भ कार्यक्रममा यातायात व्यवसायी, चालक, परिचालक, यात्रु, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। चाडपर्वमा घर फर्किने यात्रुको सुरक्षालाई केन्द्रमा राखेर सुरु गरिएको यो अभियानअन्तर्गत उपत्यकाका प्रमुख यात्रु आवागमन हुने स्थानमा सहायता, सूचना, निगरानी र गुनासो सम्बोधनको व्यवस्था मिलाइएकाले यात्रुले सहज रूपमा आफ्नो समस्या राख्न सक्ने व्यवस्था गरिएको छ।
चाडपर्वको यात्रा धेरैका लागि वर्षभरि परिवारसँग भेट हुने महत्वपूर्ण अवसर हो। यही यात्रालाई सुरक्षित र सहज बनाउन यात्रु सहायता कक्ष सक्रिय गरिएसँगै सार्वजनिक यातायातमा हुने सम्भावित अनियमितता नियन्त्रण, यात्रुको गुनासो सम्बोधन तथा सडक अवस्थाबारे सूचना प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्बन्धित निकायले यात्रुको सुरक्षा र सहज यात्रालाई प्राथमिकतामा राख्दै सेवा प्रदायक पक्षलाई जिम्मेवार बन्न तथा यात्रुलाई समेत सचेत भएर यात्रा गर्न आग्रह गरेको छ।
