१६ दिने महालक्ष्मी व्रत आज विधिपूर्वक समापन हुँदै

बनेपा, असोज १७ गते । भदौ शुक्ल सप्तमी अर्थात् असोज २ गतेदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिअनुसार समापन गरिँदै छ। धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराई परिवारमा सुख, शान्ति, समृद्धि र सौभाग्य प्राप्त होस् भन्ने कामनासहित वैदिक सनातन धर्मावलम्बीले यो व्रत बस्ने परम्परा छ।

व्रत अवधिमा श्रद्धालुले दैनिक स्नान गरी महालक्ष्मीको पूजा–आराधना, दीप प्रज्वलन र सात्विक नियम पालना गर्ने गर्छन्। ब्रह्मचर्य पालना, भूमिमा शयन, फलाहार भोजन तथा हरेक साँझ चन्द्रमालाई अर्घ्य दिने परम्परा रहेको ज्योतिष एवं पुराणवाचक हरिहर सुवेदीले बताउनुभयो।

व्रतको अन्तिम दिन व्रतालुले स्नान गरी रातो वा पहेँलो वस्त्र तथा १६ शृङ्गारमा सजिएर पूजा मण्डपमा चामलका १६ वटा साना थुप्रा बनाउने गर्छन्। प्रत्येक थुप्रामा सुपारी, सिक्का, दुबो र मालपुवा वा खिर राखेर महालक्ष्मीको स्वरूप मानी पूजा गरिन्छ।

पहिलो दिन बाँधिएको १६ गाँठो भएको पवित्र धागो फुकाएर महालक्ष्मीको चरणमा चढाउने र त्यसलाई ढुकुटीमा सुरक्षित राख्ने वा चोखो नदीमा विसर्जन गर्ने चलन छ। व्रत कथा सुन्ने, हवन गर्ने तथा साँझ चन्द्रमा उदाएपछि जल, काँचो दूध, अक्षता र फूल मिसाएर चन्द्रमालाई अर्घ्य दिने विधिसमेत गरिन्छ।

त्यसपछि १६ जना सुहागिनी वा ब्राह्मणलाई सौभाग्य सामग्री, पकवान र दक्षिणा दिएर आशीर्वाद लिने तथा महालक्ष्मीको प्रसाद ग्रहण गरेपछि व्रत सम्पन्न हुने सुवेदीले बताउनुभयो।

बनेपाकी प्रमिला खड्का छ वर्षदेखि निरन्तर महालक्ष्मी व्रत बस्दै आउनुभएको छ। १६ दिनसम्म छुट्टाछुट्टै १६ सामग्री राखेर पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण आफूले व्रत बस्दै आएको उहाँले बताउनुभयो। महालक्ष्मी अष्टकम् पाठ गर्दा घरको दरिद्रता हटेर सुख, सम्पत्ति र वैभव प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको उहाँको भनाइ छ।

धार्मिक ग्रन्थमा भगवान् शङ्करको सल्लाहपछि भगवती पार्वती र देवराज इन्द्रले समेत महालक्ष्मी व्रत तथा पूजा–आराधना गरेको उल्लेख रहेको पुराणवाचक सुवेदीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *