असोज १६ गते । प्राकृतिक विपत्तिका घटनाबीच पनि नेपालमा विदेशी पर्यटक आगमन बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को सेप्टेम्बरमा हवाईमार्गबाट ८८ हजार २४८ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या गत वर्षको सोही महिनाको ७८ हजार ७११ भन्दा १२ प्रतिशत बढी हो ।
अगस्टमा भने गत वर्षको तुलनामा पर्यटक आगमन ३.६ प्रतिशतले घटेको थियो । सेप्टेम्बरमा भने त्यसको विपरीत वृद्धि देखिएको हो ।
देशगत रूपमा भारतबाट आउने पर्यटक १९.७५ प्रतिशत बढेर १७ हजार ४२५ पुगेका छन् । चीनबाट आउने पर्यटक भने ११४ प्रतिशतले बढेर ११ हजार २१२ पुगेका छन् । गत वर्ष चीनबाट पाँच हजार २३७ पर्यटक आएका थिए ।
सेप्टेम्बरमा अमेरिकाबाट आठ हजार २९९, श्रीलङ्काबाट सात हजार १०८ र अस्ट्रेलियाबाट चार हजार ८४२ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट आएका पर्यटक कुल आगमनको ९.४० प्रतिशत हुन् ।
क्षेत्रगत रूपमा सार्क मुलुकबाट ३० हजार ८५ पर्यटक आएका छन् । यो कुल आगमनको ३४ प्रतिशत हो भने गत वर्षको तुलनामा २३.८८ प्रतिशत बढी हो । एसियाली मुलुकबाट आउने पर्यटक ५७.९७ प्रतिशत बढेर १९ हजार ८८८, पश्चिम एसियाबाट ११.९४ प्रतिशत बढेर दुई हजार ६०६ र अफ्रिकाबाट २३ प्रतिशत बढेर ४२४ पुगेका छन् । अन्य मुलुकबाट आउने पर्यटक २२ प्रतिशत बढेर चार हजार ५६८ पुगेका छन् ।
यद्यपि, युरोप, अमेरिका र ओसियाना क्षेत्रबाट आउने पर्यटक घटेका छन् । युरोपबाट १५ हजार १४८ पर्यटक आएका छन्, जुन गत वर्षभन्दा ८.७३ प्रतिशत कम हो । अमेरिका महादेशबाट १० हजार १०७ र आसियानाबाट पाँच हजार ४२२ पर्यटक आएका छन् । यी क्षेत्रमा क्रमशः १२.२९ प्रतिशत र २५.८७ प्रतिशत कमी आएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार सन् २०२६ को जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा एक लाख पाँच हजार ४४१, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४, मेमा एक लाख दुई हजार ६२६, जुनमा ९१ हजार ३६३, जुलाईमा ७१ हजार ७७५ र अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटक नेपाल आएका थिए ।
