असोज १६ गते । नेपालीको मौलिक परिकार गुन्द्रुकलाई होटल तथा पर्यटन क्षेत्रको मेनुमा समावेश गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने तयारी सुरु भएको छ। होटलहरूले आफ्ना परिकारमा गुन्द्रुक समावेश गर्ने प्रतिबद्धता जनाएका छन्।
होटेल सङ्घ नेपाल (हान) ले बिहीबार आयोजना गरेको ‘गुन्द्रुक राष्ट्रिय कार्यशाला’मा गुन्द्रुकको पहिचान विस्तार, व्यावसायिक उपयोग र अन्तर्राष्ट्रिय बजारमा प्रवर्धनका विषयमा छलफल गरिएको हो।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले होटल तथा पर्यटन क्षेत्रको मेनुमा नेपाली रैथाने परिकार समावेश गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले मौलिक खानालाई मेनुमा राख्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो।
हानका अध्यक्ष विनायक शाहले गुन्द्रुकको उत्पादन, बजारीकरण, खाद्य सुरक्षा र भण्डारणलाई व्यवस्थित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्नुपर्ने बताउनुभयो। उहाँले गुन्द्रुकलाई राष्ट्रिय दिवसका रूपमा मनाउने विषयसमेत अघि सार्नुभयो।
रोयल टुलिप काठमाडौँका केदार पाण्डेले होटलका परिकार तथा मेनुमा गुन्द्रुक समावेश गरी यसको प्रवर्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाल पर्यटन, होटेल तथा पर्वतीय प्रतिष्ठानका कार्यकारी निर्देशक दिव्यराज पोखरेलले गुन्द्रुक प्रवर्धनका लागि शैक्षिक तथा व्यावसायिक पाठ्यक्रममा समेत विषय समेट्न सकिने बताउनुभयो।
हानका महासचिव साजन शाक्यले गुन्द्रुकको उत्पादन, गुणस्तर, व्यावसायिक प्रयोग तथा पर्यटन र आतिथ्य क्षेत्रमा यसको प्रवर्धनका लागि सम्बन्धित निकायसँग निरन्तर छलफल र सहकार्य गरिने बताउनुभयो।
