हेमा भट्ट, विराटनगर –
सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ अब रंगमञ्चमा विराटनगरका दर्शकमाझ आइपुगेको छ। कान्तिपुर थिएटरले पूर्वका दर्शकको मागलाई मध्यनजर गर्दै असोज १७ र १८ गते वीरेन्द्र सभागृहमा ‘समर लभ’ मञ्चन गर्ने तयारी पूरा गरेको जनाएको छ।
नाटकका लागि सभागृहको स्टेज, प्रकाश, ध्वनि तथा आवश्यक प्राविधिक संरचना तयार भइसकेको आयोजकले जनाएको छ। दुई दिनमा प्रत्येक दिन तीन शो गरी जम्मा ६ शो सञ्चालन हुनेछन्। बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे नाटक मञ्चन हुनेछ।
कान्तिपुर थिएटरको छैटौँ नाट्य प्रस्तुतिका रूपमा रहेको ‘समर लभ’लाई सम्राट भुजेलले नाट्य रूपान्तरण तथा निर्देशन गरेका हुन्। नाटकमा अतीत शर्मा र साया शाक्यको प्रेमकथामार्फत युवा जीवन, सम्बन्ध, भावना, आकर्षण र विछोडका विभिन्न आयामलाई रंगमञ्चमा प्रस्तुत गरिएको छ।
सागर खनालले अतीत शर्मा र बास्ना तिमल्सिनाले साया शाक्यको भूमिका निर्वाह गरेका छन्। चलचित्र निर्देशक तथा अभिनेता अर्पण थापाले पहिलोपटक रंगमञ्चमा अभिनय गरेका छन्। नाटकमा विनिता गिरी, रक्षा गौतम, सनम श्रेष्ठ, जानकी बजगाईंलगायत कलाकारको अभिनय रहेको छ।
करिब दुई घण्टा लामो प्रस्तुतिमा संवादसँगै प्रकाश, संगीत र दृश्य संयोजनमार्फत उपन्यासको कथालाई रंगमञ्चीय स्वरूप दिइएको छ। काठमाडौंमा मञ्चन हुँदा ‘समर लभ’ले दर्शकको उल्लेख्य चासो पाएको र प्रारम्भिक चरणमै विभिन्न शो अग्रिम बुकिङ भएको आयोजकको भनाइ छ।
यसअघि विराटनगरमा कान्तिपुर थिएटरले प्रस्तुत गरेको **‘सेतो धरती’**ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएपछि त्यसकै निरन्तरताका रूपमा ‘समर लभ’ विराटनगर ल्याइएको थिएटरका सीईओ प्रकाश पुरीले बताए।
पुरीका अनुसार काठमाडौंमा केन्द्रित नेपाली रंगमञ्चलाई काठमाडौं बाहिरका दर्शकमाझ पनि पुर्याउने उद्देश्यले विभिन्न सहरमा नाटक प्रस्तुत गर्ने योजना अघि बढाइएको छ। उनले विराटनगरका दर्शकलाई ‘समर लभ’ हेर्न आमन्त्रणसमेत गरेका छन्।
टिकट कति ?
‘समर लभ’का टिकट रु. ३००, ५०० र १ हजारमा उपलब्ध छन्। टिकट कान्तिपुर थिएटरको वेबसाइटबाट अनलाइन बुक गर्न सकिने आयोजकले जनाएको छ।
अनलाइन बुकिङ : Kantipur Theatre – Summer Love Biratnagar
थप जानकारी/ह्वाट्सएप : ९८०२३५६१११, ९८०२३५६११३


