गौरीगङ्गाको विद्यालयमा जातीय विभेदको आरोप : निष्पक्ष छानबिन र कडा कारबाही गर्न दलित मोर्चाको माग

हेमा भट्ट, असोज १६
कैलाली * गौरीगङ्गा नगरपालिका-६, मोयास्थित भैरव आधारभूत विद्यालयमा दलित विद्यार्थी, शिक्षक तथा कर्मचारीमाथि जातीय छुवाछुत तथा विभेद गरिएको आरोपप्रति नेपाल दलित मोर्चा, सुदूरपश्चिम प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।
मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र वि.क., पूर्व व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू, शिक्षिका बिना वि.क. र कार्यालय सहयोगी लक्ष्मी दमाईमाथि पानी, खानपान तथा सामाजिक व्यवहारमा जातीय आधारमा विभेद गरिएको आरोप उल्लेख गरिएको छ।
पीडित पक्षको उजुरीका आधारमा भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्याय पक्राउ परी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको मोर्चाले उल्लेख गरेको छ।
मोर्चाले घटनाको अनुसन्धान निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन प्रहरी प्रशासन, जिल्ला प्रशासन, स्थानीय तह तथा शिक्षा निकायसँग माग गरेको छ। साथै, अनुसन्धानबाट कसुर पुष्टि भए प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न आग्रह गरिएको छ।
विद्यालयजस्तो सार्वजनिक शैक्षिक संस्थामा जातीय विभेदको आरोप उठ्नु गम्भीर विषय भएको जनाउँदै मोर्चाले पीडित विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा, सम्मान र न्याय सुनिश्चित गर्न तथा विद्यालयलाई तत्काल जातीय छुवाछुतमुक्त शैक्षिक संस्थाका रूपमा स्थापित गर्न माग गरेको छ।
नेपालको संविधानको धारा २४ ले छुवाछुत तथा भेदभावलाई निषेध गरेको र जातीय तथा अन्य छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले यस्तो कार्यलाई दण्डनीय कसुर मानेको स्मरण गराउँदै मोर्चाले कुनै दबाब वा प्रभावबिना कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
नेपाल दलित मोर्चा सुदूरपश्चिम प्रदेश समितिका संयोजक जगत वि.क. र सह-संयोजक **भक्त वि.क.**द्वारा जारी विज्ञप्तिमा जातीय छुवाछुत अन्त्य, सामाजिक न्याय र समानताको पक्षमा राज्यले दृढतापूर्वक काम गर्नुपर्नेमा जोड दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *