ओमानविरुद्ध नेपालको ११३ रनको शानदार जित

असोज २७ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको छ। करण केसीको आक्रामक ब्याटिङ र नेपाली बलरको उत्कृष्ट प्रदर्शनमा नेपालले मंगलबार ओमानको अल अमिरात क्रिकेट मैदानमा प्रभावशाली जित निकालेको हो।

नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो। ओमानका कप्तान विनायक शुक्लाले ८३ बलमा ६ चौका र एक छक्कासहित ७७ रन बनाए पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। जय ओदेड्राले २५ र जतिन्दर सिंहले १८ रन जोडे।

नेपालका नन्दन यादव र सन्दीप लामिछानेले समान तीन विकेट लिए। नन्दनले ६ ओभरमा एक मेडन राख्दै १२ रन मात्र खर्चिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट लिए। करणले ६ ओभरमा दुई मेडनसहित आठ रन खर्चेर एक विकेट लिए। करण खेलका उत्कृष्ट खेलाडी घोषित भए।

यसअघि टसपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ६७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ६१ रन बनाए। करण केसीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै १६ बलमा एक चौका र चार छक्काको मद्दतमा अविजित ४० रन जोडे।

नेपालको सुरुवात भने राम्रो हुन सकेन। आसिफ शेख ४ रनमा आउट भएपछि अर्जुन कुमाल र इशान पाण्डेले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे। इशानले ३७ र अर्जुनले ४० रन बनाए।

त्यसपछि रोहित र बसिर अहमदले चौथो विकेटका लागि ८६ रन थपे। बसिरले ५० बलमा तीन चौकासहित ३७ रन बनाए। रोहित आउट भएपछि नेपालले लगातार विकेट गुमाए पनि करणको विस्फोटक ब्याटिङले टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍यायो। दीपेन्द्रसिंह ऐरीले २२, सुन्दीप जोराले १० र नन्दन यादवले अविजित सात रन बनाए। ओमानका शाह फैसल, शाकिल अहमद र करण सोनावालेले दुई–दुई विकेट लिए।

जितसँगै नेपालले लिग–२ मा महत्वपूर्ण दुई अंक जोडेको छ। यसअघि ३४ खेलबाट १३ जित, १९ हार र दुई अनिर्णीत नतिजासहित नेपालको २८ अंक थियो। लिग–२ मा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र प्रत्येक टोलीले ३६ खेल खेल्ने तालिका छ।

अंक तालिकाका शीर्ष चार टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। नेपालले शीर्ष चारमा रहेर सिधै छनोटमा पुग्ने सम्भावना गुमाइसकेकाले बाँकी खेलमा जित निकाल्दै अंक सुधार गर्नु महत्त्वपूर्ण बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *