बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

कात्तिक २ । बलिउड अभिनेता टाइगर श्रफ सवार बीएमडब्ल्यू गाडीमा भारतको मुम्बईस्थित जुहु क्षेत्रमा आइतबार साँझ गोली प्रहार भएको छ। घटनामा अभिनेता श्रफ सकुशल रहे पनि उनका चालक घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार फुटबल खेलेर घर फर्किने क्रममा पुष्पा पार्कनजिकै मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा तीन राउन्ड गोली चलाएका थिए। घटनामा एक अटोरिक्सा चालक पनि घाइते भएको जनाइएको छ। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

घटनास्थलमा गोलीका खोका फेला परेका छन्। प्रहरीले अनुसन्धानका लागि १२ टोली परिचालन गरी घटनास्थलको फरेन्सिक जाँच, सीसीटीभी फुटेजको अध्ययन र प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ।

सामाजिक सञ्जालमा घटनामा लरेन्स विश्नोई समूहको संलग्नता रहेको दाबी गरिए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। घटनापछि भारतीय कांग्रेसका नेताहरूले महाराष्ट्रको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्। सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *