२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी प्रसारण लाइन

कात्तिक १ । बाढीपहिरो र नदी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ।

नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणालीअन्तर्गतको टावर प्रयोग गरी शनिबार राति सवा १० बजे प्रसारण लाइनको एउटा सर्किट अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो।

असोज ११ गतेको बाढीले अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित चारवटा टावरमा क्षति पुर्‍याएको थियो। तीमध्ये तीनवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने एउटामा आंशिक क्षति पुगेको थियो।

प्रसारण लाइन अवरुद्ध हुँदा पाँच जलविद्युत् आयोजनाबाट उत्पादित १७० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन। लाइन पुनः सञ्चालनमा आएसँगै ती आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुन थालेको छ।

स्थायी टावर निर्माण पूरा भएपछि दाना–राहुघाट खण्ड नियमित रूपमा सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

करिब १३० किलोमिटर लामो कालीगण्डकी करिडोर प्रसारण लाइनले करिब १ हजार २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ। यसले कालीगण्डकी र सहायक नदीमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *