कात्तिक १ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ। घटस्थापनादेखि कात्तिक १ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम बढेको हो। पछिल्ला दिनको तुलनामा आइतबार उपत्यका छाड्ने यात्रुको सङ्ख्या केही घटेको उहाँले बताउनुभयो।
दसैँका यात्रुको चाप नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायत क्षेत्रमा देखिएको छ। यात्रु फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै बाहिरिएका छन्।
दसैँमा परिवारसँग भेटघाट गर्न, आफन्तसँग रमाइलो गर्न र मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्न सर्वसाधारण आफ्नो घर फर्किने क्रम जारी छ।
