कात्तिक ५ । बडादसैँमा परिवारसँग खुसी साटासाट गर्ने समय चलिरहँदा पनि रोजगारी, अध्ययन र अन्य कामका लागि विदेशिने नेपाली युवायुवतीको क्रम रोकिएको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाडपर्वकै बीच विदेश जाने यात्रुको भीड देखिएको छ।
विदेशिने अधिकांश युवा रोजगारीको खोजीमा छन्। केही उच्च शिक्षा, पारिवारिक भेटघाट तथा व्यक्तिगत कामका लागि पनि विदेश जाँदैछन्। स्वदेशमा पर्याप्त रोजगारी र आकर्षक सेवासुविधा नहुँदा राम्रो भविष्यको खोजीमा विदेश जानुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
रोजगारीका लागि विदेश जान लाग्नुभएका सिरहाका लखनकुमार यादवले स्वदेशमै योग्यता र क्षमताअनुसारको काम पाएको भए दसैँका बेला परिवार छाडेर विदेश जानुपर्ने थिएन भन्नुभयो। परिवारको आर्थिक अवस्था सुधार्ने, शिक्षा र स्वास्थ्यमा खर्च जुटाउने तथा भविष्यका लागि बचत गर्ने उद्देश्यले विदेश जान लागेको उहाँले बताउनुभयो।
गुल्मीका प्रकाश खत्रीले पनि नेपालमा रोजगारीका अवसर सीमित हुनु र उपलब्ध काममा पर्याप्त सेवासुविधा नहुनुले युवालाई विदेशतर्फ आकर्षित गरेको बताउनुभयो।
वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न र जीवनस्तर उकास्न सहयोग गरे पनि सक्रिय युवा जनशक्ति विदेशिँदा देशभित्र दीर्घकालीन चुनौती बढ्न सक्ने कैलालीका ठक्कर कलेलको चिन्ता छ। छोरालाई विदेश पठाउन विमानस्थल पुग्नुभएका उहाँले दक्ष र मेहनती युवा बाहिरिँदा कृषि, उद्योग, निर्माण, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा जनशक्तिको अभाव हुन सक्ने बताउनुभयो।
दसैँजस्तो पारिवारिक जमघटको पर्वमा समेत युवाहरू विदेशिनुले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र युवा जनशक्तिलाई देशभित्रै भविष्य खोज्न सक्ने वातावरण बनाउने आवश्यकता देखाएको छ।
रासस
