गुल्मीका सरायँ मेलामा काठे पिङको रौनक

रेसुङ्गा (गुल्मी), कात्तिक ६ । दसैँसँगै गुल्मीका गाउँबस्तीमा काठे पिङको आकर्षण बढेको छ। सरायँ नाच र मेला लाग्ने स्थानमा राखिएका पिङले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई आकर्षित गर्दै पर्वको रौनक थपेका छन्।

इस्मा, मालिका, धुर्कोट, मदाने, मुसिकोट र छत्रकोटलगायतका स्थानीय तहमा दसैँका बेला काठे पिङ राख्ने चलन छ। कतिपय समूहले पिङका सामग्री विभिन्न स्थानमा पुर्‍याएर मेला तथा पर्वका अवसरमा सञ्चालन गर्दै आएका छन्।

आधुनिक मनोरञ्जनका साधन बढे पनि काठे पिङप्रतिको आकर्षण घटेको छैन। इस्मा गाउँपालिका–५ का ६२ वर्षीय बोमबहादुर कुमालका अनुसार दसैँमा पिङ खेल्ने परम्पराले नेपाली संस्कृति र पुरानो पुस्ताको सम्झनालाई जीवन्त राखेको छ।

इस्मा गाउँपालिका–६ अमरपुरका युवा पुष्कर पोख्रेलले पिङले दसैँ आएको अनुभूति गराउने बताउनुभयो। उहाँका अनुसार पिङ खेल्ने बहानामा गाउँले, आफन्त र साथीभाइबीच भेटघाट हुने गरेको छ।

धुर्कोट गाउँपालिका–६ रजस्थलका युवा भरत भण्डारीले काठे पिङले गाउँघरको आत्मीयता, आपसी सद्भाव र मौलिक संस्कृतिको संरक्षणमा योगदान पुर्‍याएको बताउनुभयो। गाउँमा पिङ राख्ने चलन घट्दै गए पनि मेलामा काठे पिङ खेल्न पाउँदा पुरानो परम्परासँग जोडिने अवसर मिल्ने उहाँको भनाइ छ।

काठे पिङ मनोरञ्जनको साधन मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा पनि हो। गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *