जुम्लाबाट ५५ करोडको स्याउ निर्यात

सिँजा (जुम्ला), कात्तिक ६ । जुम्लाबाट यस वर्ष हालसम्म सात हजार ३३० मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार बगैँचाबाट प्रतिकेजी न्यूनतम ७५ रुपैयाँका दरले बिक्री हुँदा करिब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जिल्लामा १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ। गत वर्षको तुलनामा उत्पादन केही घटेको आकलन गरिएको छ भने कुल उत्पादन र निर्यातको यकिन विवरण संकलन भइरहेको छ।

जुम्लाको तातोपानी गाउँपालिका–६ बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा गरिएको सामूहिक स्याउ खेतीबाट ३४ मेट्रिक टन उत्पादन भएको थियो। त्यसबाट मात्रै करिब ३० लाख रुपैयाँको स्याउ बिक्री भएको अधिकारीले बताउनुभयो।

जिल्लामा चार हजार ६०५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। चालु आर्थिक वर्षमा थप १०८ हेक्टरमा खेती विस्तार गर्ने लक्ष्य कृषि विकास कार्यालयले लिएको छ। यहाँका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन्।

भारतबाट आउने स्याउको आयात बन्द भएपछि स्थानीय उत्पादनले बजार पाएको व्यवसायीको भनाइ छ। हिमा गाउँपालिकाकी स्याउ व्यापारी माया रोकायाले जुम्लाबाट एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेको जानकारी दिनुभयो।

कोल्ड स्टोर र घरमा भण्डारण गरिएको स्याउसमेत बजारमा पठाउन बाँकी रहेकाले निर्यात र कारोबारको रकम थप बढ्न सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *