कोशीमा निरोगिताको प्रमाणपत्र लिन ५०० रुपैयाँ शुल्क

विराटनगर, कात्तिक ५ । कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि आवश्यक निरोगिताको प्रमाणपत्र लिन अब सेवाग्राहीले ५०० रुपैयाँ तिर्नुपर्ने भएको छ।

प्रदेश सरकारले करारमा चिकित्सक खटाएर प्रमाणपत्र जारी गर्दै आएको व्यवस्था हटाई सूचीकृत चिकित्सकमार्फत सेवा दिने तयारी गरेको हो। नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले प्रदेश सरकारलाई ३५० रुपैयाँ राजस्व र चिकित्सकलाई १५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। यसअघि प्रमाणपत्रका लागि ३५० रुपैयाँ मात्रै तिर्नुपर्थ्यो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रमाणपत्र जारी गर्न इच्छुक चिकित्सकलाई सूचीकृत हुन आह्वान गरेको छ। मन्त्रालयका सचिव कृष्ण सापकोटाका अनुसार संघीय सरकारको परिपत्रअनुसार नयाँ व्यवस्था लागू गर्न लागिएको हो।

दुई वर्षअघि स्वास्थ्य परीक्षण र प्रमाणपत्र जारी गर्ने क्रममा अनियमितता तथा बढी रकम असुलिएको गुनासो आएपछि प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयहरूमा करारका चिकित्सक खटाएको थियो। इटहरी र बिर्तामोडमा दुई–दुई जना तथा अन्य कार्यालयमा एक–एक जना चिकित्सकले सेवा दिँदै आएका थिए।

नयाँ व्यवस्थाले सेवाग्राहीको खर्च बढाउने र प्रमाणपत्रका नाममा थप रकम असुल्ने जोखिम हुन सक्ने भन्दै आलोचना भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *