हेमा भट्ट, कात्तिक २०
महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका करिब २ लाख ६५ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कात्तिक १९ गते जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरी टोलीले उक्त सामान बरामद गरेका हुन्।
इलाका प्रहरी कार्यालय गड्डाचौकीले चप्पल, मोबाइल कभर, मोबाइल स्क्रिन कार्ड, मिठाई तथा किराना र खाद्यान्नलगायतका सामान बरामद गरेको छ। बरामद सामानको मूल्य करिब १ लाख १० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, वडा प्रहरी कार्यालय महेन्द्रनगरले रेडिमेड कपडा, जुत्ता र सुट गरी २१ हजार ५०० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। प्रहरी चौकी परासनले सुर्ती, बिँडी, सोडा र पोलिथिन गरी १ लाख ३३ हजार ७५० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार तीनवटै स्थानबाट गरी कुल २ लाख ६५ हजार २५० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको हो।
बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्।
भारतसँग सीमा जोडिएको कञ्चनपुरका विभिन्न नाकाबाट हुने अवैध आयात नियन्त्रण गर्ने क्रममा प्रहरीले सामान बरामद गरेको हो।

