हेमा भट्ट कात्तिक २०
कञ्चनपुर – कृष्णपुर नगरपालिका–१ मा बैजनाथ बाल क्लबको आयोजनामा सडक किनारका झाडी तथा बाल उद्यान सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
बैजनाथ बाल क्लबको आयोजना, कृष्णपुर नगरपालिका वडा नं. १ को सहकार्य, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुर (दंगा नियन्त्रण) तथा विभिन्न टोलस्तरीय बाल क्लबहरूको सहयोगमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमअन्तर्गत सडक किनारमा उम्रिएका झाडीहरू हटाउनुका साथै कृष्णपुर नगरपालिका-१ स्थित बाल उद्यानको सरसफाइ गरिएको थियो। सार्वजनिक स्थानलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने तथा बालबालिकाका लागि स्वच्छ र सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।


कार्यक्रमले बालबालिकामा सामाजिक उत्तरदायित्व, सामूहिक भावना, वातावरण संरक्षण र सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
बैजनाथ बाल क्लबका अध्यक्ष विशाल पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने वडा कार्यालय, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुर तथा सहभागी सम्पूर्ण टोलस्तरीय बाल क्लब र सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेका छन्।
उनले बालबालिकाको सक्रिय सहभागितामा समुदायको सरसफाइ र वातावरण संरक्षणका गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिए।







