२०८३ सालको तिहार कात्तिक २० देखि, भाइटीकाको शुभसाइत बिहान ११:०७ बजे

कात्तिक १७
काठमाडौ – नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले वि.सं. २०८३ सालको यमपञ्चक (तिहार) तथा नेपाल संवत् ११४७ अन्तर्गतका चाडपर्व र भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको तिहार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धतेरस) र यमदीपदानबाट सुरु हुनेछ।

समितिका अनुसार कात्तिक २१ गते शनिबार कागतिहार तथा ध्वन्तरिजयन्ती मनाइनेछ। त्यसैगरी कात्तिक २२ गते आइतबार नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मीपूजा (दीपमालिका) तथा सुखरात्रि परेको छ।

कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धनपूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। सोही दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।

यसैगरी कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका (किजापूजा) मनाइने समितिले जनाएको छ। भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। उक्त समयमा दाजुभाइले पश्चिम मोहडा फर्केर र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्ने समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालद्वारा जारी विवरणमा शुभदीपावली तथा नेपाल संवत् ११४७ को प्रारम्भको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *