कात्तिक १७
धनगढी – सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, हिमाली पहिचान र पर्यटनको सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा मुख्यमन्त्री खगराज भट्टले जोड दिनुभएको छ। उहाँले अपि हिमालजस्ता प्राकृतिक सम्पदाको योजनाबद्ध विकास र प्रवर्द्धन गर्न सके स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका प्रशस्त अवसर सिर्जना गर्न सकिने बताउनुभएको छ।
अपि हिमाल गाउँपालिकाद्वारा सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यमा आयोजित अपि हिमाल पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले पर्यटनलाई मनोरञ्जन र घुमफिरमा मात्र सीमित नराखी स्थानीय नागरिकको जीवनस्तर सुधार्ने आर्थिक आधारका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले अपि हिमाल सुदूरपश्चिमको मात्र नभई समग्र राष्ट्रकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा सरकार, स्थानीय तह, निजी क्षेत्र तथा समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
महोत्सवमा सहभागी प्रदेशका जनप्रतिनिधि तथा मन्त्रीहरूले पनि अपि हिमालसहित सुदूरपश्चिमका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्नेमा जोड दिएका छन्।
सभामुख भीम भण्डारीले पर्यटन क्षेत्रको विकासलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले प्रदेशका पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
त्यस्तै, आर्थिक मामिलामन्त्री चक्र मल्लले पर्यटन विकासका लागि आवश्यक योजना निर्माण र कार्यान्वयनलाई प्राथमिकतामा राखिएको बताउनुभयो भने कृषि मन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्र चलायमान बनाउनुपर्ने धारणा राख्नुभयो।

प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री मानबहादुर धामीले पर्यटन विकासका लागि बनाइएका योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। अर्का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विक्रम धामीले अपि हिमाल क्षेत्रको धार्मिक महत्त्वलाई समेत उजागर गर्दै धार्मिक पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो।
प्रदेश सरकारका प्रमुख सचिव उत्तर खत्रीले अपि हिमाल सुदूरपश्चिमको विशिष्ट पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबै पक्षको साझा जिम्मेवारी रहने उल्लेख गर्नुभयो।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र साहसिक पर्यटनको सम्भावना बोकेको अपि हिमाल क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
महोत्सवले अपि हिमालको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान विस्तार गर्नुका साथै स्थानीय कला, संस्कृति, उत्पादन र पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। पर्यटनलाई स्थानीय आयआर्जन र रोजगारीसँग जोड्न सके अपि हिमाल क्षेत्र सुदूरपश्चिमको आर्थिक विकासको एउटा महत्त्वपूर्ण आधार बन्न सक्ने देखिन्छ।
